संखुवासभा । पूर्वी नेपालको हिमाली जिल्ला संखुवासभामा देशभरका होटल ब्यवसायीहरु भेला भएका छन् । आइतबार होटल ब्याबसायीहरुको छाता संस्था होटल ब्याबसायी महासंघको चौंथो सचिवालय बैठक तथा राष्ट्रिय भेलामा सहभागी हुन देशभरका होटल ब्याबसायीहरु संखुवासभाको सदरमुकाम खाँदबारीमा भेला भएका हुन् ।
‘संखुवासभाको पर्यटन प्रबद्र्धनमा सरोकारवालाहरुको भूमिका’ बिषयक अन्तरक्र्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा देशभरका होटल ब्याबसाय महासंघमा आबद्ध प्रतिनिधीहरु, जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, खाँदबारी नगरपालिका उपमेयर महेश्वरा श्रेष्ठ बज्रचार्य, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो । यो कार्यक्रम संखुवासभा होटल ब्याबसाय संघले आयोजना गरेको हो । उक्त कार्यक्रममा देशभरका ७७ जिल्लाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा होटल ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेशकुमार चुकेले पर्यटनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा थप टेवा पु¥याउने उद्धेश्यले होटल ब्याबसायी महासंघको बैठक काठमाडौ उपत्यका बाहिर गर्ने परम्पराको थालनी गरिएको बताए । उनले पूर्वी पहाडी जिल्लाहरुको पर्यटन सम्भावना र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि के गर्न सकिन्छ भनेर काठमाडौं बाहिर बैठकको आयोजना गरिएको बताए । ‘संखुवासभा चीनसँग सिमाना जोडिएको जिल्ला अत्यन्तै दुर्गम जान सकिदैन भन्ने थियो तर अहिले यहाँ हामीले सोचे जति दुर्गम रहेनछ, होटलहरु प्रशस्त खुलेका रैछन्, बस्नलाई समस्या रहनेछ । हामी सेवा दिएर पैसा लिने ब्याबसाय भएकाले हामीले पनि हाम्रो तर्फबाट पर्यटन प्रबर्धनमा सघाउ पुग्ने गरि काम गर्नुपर्छ भनेर लागेका छौं ।’—अध्यक्ष चुकेले भने—‘राज्यले होटल ब्याबसायलाई केही सहज बनाउनुपर्छ भनेर माग गरेका छौं, कमसेकम राती ११ बजे सम्म होटल खोल्न दिनुपर्छ । ८ बजे नै बन्द गरेर के ब्याबसाय गर्ने ?’
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले होटल ब्यवसायीहरुको समस्या चुनौत आफुले नजिकबाट अनुभव गर्नपाएको भन्दै राष्ट्रियस्तरको भेला संखुवासभामा गर्ने कार्यक्रम राखेकोमा होटल ब्यवसायी महासंघ केन्द्रिय समितिलाई बिशेष धन्यबाद दिए । उनले जिल्लामा रहेका स्थानीय पालिकाहरुलाई होटल ब्यवसायीमैत्री नीति निर्माण गर्नका लागि आग्रह गरे ।
संखुवासभा चीनको स्वसाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको जिल्ला हो । रुद्राक्ष, अलैंची, अल्लो, जलबिद्युत÷हाईड्रोपावरको हबका रुपमा रहेको संखुवासभा पर्यटकीय हिसावले समेत प्रचुर संभावना बोकेको जिल्ला हो । त्यसैले यो जिल्लामा पर्यटन प्रबर्धनको संम्भावना प्रवल रहेको बोल्ने अधिकाँस बक्ताहरुले बताएका थिए ।
विश्वको पाचौं अग्लो मकालु हिमाल, विश्वको सबैभन्दा होचो उपत्यका अरुण उपत्यका लगायत बिभिन्न धार्मिक पौराणिक महत्व बोकेका दर्जनौं तीर्थस्थलहरु रहेको जानकारी दिइएको थियो । विश्वको सबैभन्दा बढि ४ सय ३२ प्रजातिका पुतली र विश्वका ३२ प्रजाति मध्ये २८ प्रजातिका लालीगुराँस पाइने लालीगुराँसको राजधानी तिनजुरे—मिल्के—जलजले (टिएमजे) यहि पर्दछ । पौराणिककालमा बेद पुराणमा समेत समेटिएका बरुण र साल्दिम भ्याल्ली, सतिदेवीको दाहिने आँखा पतन भएको सिद्धकाली, प्रशिद्ध तिर्थस्थल मनकामनाधाम, वालेश्वर गुफा, गुफापोखरी, सभापोखरी, शिवधारा लगायतका पर्यटकीयस्थलहरुका बारेमा देशभरका होटल ब्यवसायीहरुलाई जानकारी गराइएको थियो । स्थानीय उत्पादन रुद्राक्षको माला र अल्लोका सामग्रीहरु समेत प्रदर्शनमा राखिएको थियो ।