म पनि दुई जेन्जीको बाउ । दुबैजना काठमाण्डौमा । जेठो यसैसाल +२ पास गरेर फरदर अध्ययनको लागि ईन्ट्रान्स परिक्षाको तयारी गर्दै बसेको र माईलो ग्लोबल कलेज बानेश्वरमा कक्षा– ११ पढ्दै गरेको ।
बिहानको १० बजे तिर केटाहरुले जेनजीले गर्ने आन्दोलनमा साथीहरु जानुपर्छ भन्छन्, के गरौं बाबा ? भनेर फोन गरे । मैले दोस्रो कुरै नसोचिकन कलेजमा पढाई हुँदैन भने जानु तर भीडभाडमा जे पनि हुन सक्छ, चङ्खो हुनु, उछृङगल कार्य नगर्नु नि भनेर छोरालाई भने । एकछिन पछि म आफै उत्साहित हुँदै हाते माईक र त्यसको बेट्री किन्ने पैसा म पठाई दिन्छु, साथीहरुको अगुवा भएर भाषण गर माईला भनेर फेरी माईलो छोरालाई (सौजन कट्टेल) आँफैले फोन गरें ।
मेरो माईलो छोरा एसईईमा जिल्ला फष्ट भएर पढ्न गएको अनि जिल्लामा भएका मा.बि. स्तरीय बक्तृत्वकला प्रतियोगितामा कक्षा ८ पढ्दा देखि नै जहाँ र जुन प्रतियोगितामा भाग लिएपछि प्रथम हुने मात्र होइन गत साल मिडिया हबद्वारा भएको मा.बि. स्तरीय देशब्यापि अनलाईन बक्तृत्वकला प्रतियोगितामा पनि प्रथम स्थान हाँसिल गरेको । उसको वाक शक्ति राम्रै छ । एउटा बाउ हुनुको नाताले मनमा अनेक कुरा खेल्यो । यस्तै मुभमेन्टबाट नेतृत्व बिकास, क्षमता बिकास हुन्छ । साथीहरुसँग जानपहिचान पनि हुन्छ......यो अवसर हो, केटालाई किन रोक्ने ? डरपोक र काँतरको काम पनि छैन अलि सुरो र साहसी पनि पो हुन्छ कि.....भन्ने लाग्यो । यसरी अगुवा छोराको बाउ हुने भुत ममाथि सवार भयो ।
मैले छोरालाई उक्साएर जानु भनेर पठाएँ किनभने म ढुक्क थिएँ कांग्रेस र एमाले जस्ता लोकतान्त्रिक पार्टीको सरकार छ । यिनले १५/१६ बर्षका बच्चा माथि गोली चलाएर नरसंहार मच्चाउँछन् भनेर कल्पना सम्म पनि गरिन तर मैले यि अहंकारी शासकलाई चिनेकै रैनरहेछु यो मानेमा म अति मुर्ख र लठुवा रहेछु।
दिउँसो २/३ बजे सामाजिक संजाल हेरेको त जथाभाबी गोली हानेर बिद्यार्थीहरु सडकमा मारेको दृष्य छ, बानेश्वर संसद भवन अगाडि बालबालिकाको नरसंहार छ............अब १६/१७ बर्षका बिद्यार्थी नानीबाबुहरु माथि सरकारले गोली बर्साउँदैन भन्ने मेरो बिश्वास विपरितमा परिणत भयो ।
यस्तो अकल्पनिय हृदयविदारक दृष्य देखेपछि,......मेरो मनले भन्यो – ज्या है ! मैले कुन दिनमा छोरालाई आन्दोलनमा जानु भनेछु नि, मेरो बोलीले छोराहरु केहि त भएनन् ? ......भनेर ठूलो पछुतो र दिग्दारी लाग्यो । फेरी सञ्जालमा आयो आन्दोलनमा गोली लागेर ग्लोबल कलेजका दुई बिद्यार्थीको मृत्यु ......। यसपछि त झन् हातखुट्टा लल्याकलुलुक भए...... के–के भयो भयो ? अनि सम्हालिएर केटाहरुलाई तुरुन्तै फोन गरें । दुईटैले फोन उठाउँदैनन्, फर्काउँदैनन् पनि । आन्दोलनमा छोरा पठाउने बाउ म अपराधी हुँ पापी हुँ......मलाई धिक्कार छ भनेर के–के सोच आयो आयो ? यो फोन गर्ने क्रम दिवा ३ः०० बजे देखि साँझ ६ः०० बजे सम्म निरन्तर रह्यो ।
साँझ ६ः०० बजे पछि केटाले फोन गरे, बोली सुनेपछि ए...जिउँदै रहेछन् है भनेर अनि मात्र म सम्हालिएँ । बानेश्वरमा थियौं पुलिसले गोली चलायो,......मार्ने रहेछ भनेर हामी भित्री बाटोबाट भाग्यौं, कोठा भर्खर आईपुगेको भने। मेरो मन अलि शान्त भयो ।
म त्यो ३ घण्टा भित्रमा एक पटक हैन कयौं पटक मरें । एउटा नितान्त आफ्नो अनुभुति सुनाएर तपाईहरुलाई झन्झट लाग्यो भने माफी चाहन्छु । मैले भन्न खोजेको एउटा बाउ हुनुको नाताले सन्तानप्रतिको मोह अरु बाउआमालाई पनि मलाई जस्तै पक्कै हुन्छ भनेर मेरो अनुभुति सेयर गरेको मात्र हो । तर लाउँ–लाउँ खाउँ–खाउँको उमेरमा, संसार चिन्न नपाउँदै ति कलिला छोराछोरी गुमाउने बाउआमालाई कस्तो भएको होला ? त्यहाँ मर्ने ७६/८० जना मात्र मरेका छैनन नि, त्यति त सतहमा देखिएका मात्र हुन् भित्री रुपमा ति मर्नेहरुका साथमा तिनका बाउआमा, दाजुभाई, दिदिबहिनी, हजुरबुबा हजुरआमा, साथीभाई लगायत सबै सँगै मारिएका छन् ।
कति पीडा हुन्छ सन्तान मारिदिदा यो सन्तान हुने र भोग्नेलाई थाहा हुन्छ । त्यो सोच्ने चेतना, मन, हृदय र विवेक हुनेलाई थाहा हुन्छ । नहुनेले सिध्याई दिई हाले । वास्तबिकता यो हो ।
मैले त यहि संबिधानलाई मान्ने र शुसिला कार्कीको नेतृत्वमा सरकार बनाउने......भनेकै दिन “मुर्ख लाई ......पुछ्न लायो ......को दोहोलो“ भने जस्तो भयो यो पटक्कै राम्रो भएन, देश पुरानो लय, थिति र चालामाला तिर जाने भयो भनेर लेखें पनि, हुने पनि त्यहि हो ।
अहिले सम्म आईपुग्दा केही घटना र ठाउँहरुमा जेन्जीको आवरणमा वा जेन्जीको नकाब लगाएर केही गैह्र जेन्जीहरुले भ्रमको खेती र उछृङगल गतिविधीमा संलग्न भएका घटना देखिएका छन् । जो पहिला देखिनै तेस्तै गतिविधीमा संलग्न थिए र छन् । तिनै लुच्चा, लफङ्गा र भड्केको आत्माहरुको रघरघ, बिगबिगी र अराजकता छँदै थियो जो अहिले पनि कायमै छ, यो शुभ संकेत होइन । त्यसैले सबै जना अनुशासनमा रहनु पर्छ । जेन्जी आन्दोलनलाई नेतत्व गर्ने, मृत्यु हुने, रगत बगाउनेहरु छन्, जेन्जीका एजेण्डा/मागहरुलाई मन पराएर प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने र सकारात्मक भाब राख्ने, अभिब्यक्ति दिने सबै पक्ष, तहतप्का धेरै जना भएर न सत्ता कब्जा भएको हो ।
त्यसैले यो कुराको मनन गर्दै सबैको सम्मान गर्नुपर्छ नत्र अराजक, असभ्य गतिविधी जेन्जी आन्दोलनको मर्म र भावना विपरित हुनेछ जस्को परिणाम अत्यन्तै दुःखद र अकल्पनीय हुनेछ ।
दोस्रो –
आजका दिन सम्म आईपुग्दा मलाई अचम्म र उदेक लागेको एउटा बिषय छ । त्यो सेयर गर्न चाहन्छु । यत्रो नरसंहार हुँदा विद्यार्थीको हकहितका लागि गठन र क्रियासिल भएका पार्टीका भातृ विद्यार्थी संघ/संगठन र शिक्षक संघ/संगठनहरुले मृतक हुनेहरु प्रति समबेदनाका एउटा बिज्ञप्ति र शब्द सम्म जारी गरेनन्.........घाइतेहरुको कुरै छोडौं तर अहिले पनि तिनिहरु पार्टीका बैठकहरुमा खुले आम सहभागी भएका देखिन्छन् । झोलाको मोह कति हो कुन्नी ? त्यसैले बिद्वत बर्गहरु यस्तो बिषयमा एक पटक समिक्षा गर्नु पर्दैन ?
धन्यबाद !