मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

लेख/विचार :
अकबरे खुर्सानीको औंसा कीरा

Sankhuwasabhapress 598+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार
  • सरोज राई  र डा. देवराज अधिकारी

परिचय :

अकबरे खुर्सानी वा डल्ले खुर्सानी भनेर चिनिने क्याप्सिकमको व्यवसायिक खेती नेपालको पूर्वी क्षेत्र साथै विभिन्न भुभागमा गरेको पाईन्छ । उत्पादन र आयआर्जनको हिसाबले पूर्वी नेपालको पहाडी जिल्लाहरु संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, सोलुखुम्बु, मोरङ, सुनसरी, उदयपुर, खोटाङ र ओखलढुङ्गा जिल्लामा अकबरे खोर्सानी एक महत्वपूर्ण बाली हो । नेपालमा अकबरे खुर्सानीको खेती प्रत्येक वर्ष बढ्दै गईरहेको अवस्था छ । यद्यपी, यसको खेती व्यवस्थापन र उत्पादनमा विविध चुनौतीहरु रहेका छन् । ति मध्ये अकबरे खुर्सानीको फलमा लाग्ने औंसा कीरा एक प्रमुख समस्याको रुपमा देखा परेको छ । यस लेखमा अकबरे खुर्सानीमा लाग्ने औंसा कीरा सम्बन्धमा संखुवासभा जिल्लामा गरिएको अवलोकन, अध्ययन, अनुगमन तथ्य र बिभिन्न सन्दर्भ सामाग्रीहरुको जानकारी संलग्न गरी कीराको पहिचान र व्यवस्थापन बारेमा प्रस्तुत गरिएको छ ।

औंसा कीरा :

फल कुहाउने औंसा पार्ने झिंगा विश्वको सबैभन्दा विनाशकारी कीराहरू मध्ये एक हो र यसले धेरैजसो फलफूल र फलजन्य तरकारी बालीहरूमा नोक्सानी पुर्याउदछ। यसलाई अग्रेजीमा फ्रुट फ्लाई भनिन्छ र यो झिंगा बर्गमा पर्दछ। झिंगा कीराले ४ अवस्था (फूल, लार्भा, प्युपा र बयस्क)मा आफ्नो जीवन चक्र पुरा गर्छ।फल कुहाउने औसा पार्ने झिंगाको जीवन चक्रमा तिनिहरुको जाति र वातावरणिय अवस्थाले प्रभाव परेको हुन्छ। 


अध्ययनको पृष्ठभुमि :

अकबरे खुर्सानी नेपालको एक नगदे बाली हो । संखुवासभा जिल्ला नेपालको अकबरे खुर्सानी उत्पादन हुने प्रमुख जिल्लाहरु मध्ये एक हो । यद्यपी, अकबरे खुर्सानी खेतीमा फल कुहाउने औंसा पार्ने झिंगाको प्रकोप देखा परेको छ । यसबाट अकबरे खुर्सानी उत्पदनमा जोखिम रहेको छ, जसले बालीको उत्पादन र गुणस्तर घटाउन सक्दछ । अकबरे खुर्सानीमा फ्रुट फ्लाईले ब्यापक क्षति गरेको समस्या नेपालमा नयाँ नयाँ नै हो । यस सम्बन्धमा यसको अनुसन्धान भएको छैन र यस सम्बन्धि प्राबिधिक जानकारीहरु पनि कमै मात्र उपलब्ध छन् । कृषकहरुको खेतबारीमा गरिएको विगत दुई वर्षको फिल्ड भ्रमण, अबलोकन र अनुगमनको आधारमा अकबरे खुर्सानी खेतीमा फल कुहाउने औंसा पार्ने झिंगाले करिब २० देखि २५ प्रतिशत क्षति पुर्याएको पाइएको छ । यसले गर्दा यो शत्रु कीरा सम्बन्धमा खोजी नीति गर्न आवश्यकता महशुस गराएको हो ।

संखुवासभा जिल्लाको अकबरे खुर्सानी खेतीमा फ्रुट फ्लाईको प्रकोपको अनुगमन र अकबरे खुर्सानीको फलमा क्षति गर्ने झिँगाको प्रजाति पहिचान सम्बन्धि अध्ययन गरिएको थियो ।

अध्ययन गरिएको अबधिः २०८० असार देखि असोज सम्म ।

अध्ययन गरिएको स्थानहरुः खाँदवारी नगरपालिका वडा नं ५, भिरकुना संखुवासभा ।

मोहिनी पासो प्रयोग गरि झिंगा (फ्रूट फ्लाई)को प्रजातीहरुको अनुगमन

अकबरे खुर्सानी खेतीमा फल कुहाउने औंसा पार्ने झिंगाका जातिहरुको अनुगमन र पहिचान गर्न क्यू ल्यूर र मिथायल यूजेनल पाराफेरोमोन ल्यूर (मोहिनी) पासो प्रयोग गरिएकोमा झिंगाका जातिहरुः जुगोडाउकस कुकुरबिटी, जुगोडाउकस टाउ, ब्याक्ट्रोसेरा डरसालिस र ब्याक्ट्रोसेरा जोनाटा पाइएको थियो ।

अकबरे खुर्सानीको फलमा लाग्ने औंसा कीराको अध्ययन :

अकबरे खुर्सानी खेतीमा फल कुहाउने औंसा पार्ने झिंगाका जाति पहिचानका लागि खुर्सानीको फलमा संक्रमण गर्ने औंसाको परिपक्क अवस्थालाई माटोमा प्यूपा अवस्थामा जान दिई त्यसबाट निस्किएको वयस्क झिंगालाई पहिचान गरिएको थियो । यसका लागि औंसा कीरा संक्रमित फलहरु संकलन गरेर १० बट्टाहरु माटो (१५ सेन्टिमिटर) राखि त्यसमा १०, १० वटा छिप्पिएका औंसाहरु राखेर प्यूपा/अचल अवस्थामा जान दिई त्यसपछि बट्टालाई मलमलको कपडाले ढाकियो, बट्टामा औंसा–प्यूपा र वयस्कको अवस्थाहरु अनुगमन गर्न नियमित निरीक्षण गरियो। 

केही नतिजा र तथ्य :

अध्ययनका लागि राखिएका औसा संख्याः १०० वटा

औंसाबाट प्युपा भएका संख्याः ७९ वटा (३–४ दिनमा) 

प्युपाबाट बयस्क झिंगा भएका संख्याः १९ वटा (८ दिनमा)

१. यसरी निस्किएका झिंगाहरुको शारिरिक बनावट, शरिरको बिभिन्न अङ्गभागहरुको बनोट, रंग, चिन्हहरु आदिको गुण अनुसार यो कीरा फल कुहाउने औंसा पार्ने झिंगाको एक जाति ब्याक्ट्रोसेरा ल्याटिफ्रोन्स भएको पाइयो। यसलाई अंग्रेजीमा सोलानम फ्रुट फ्लाई भनिन्छ। यसले खुर्सानी लगायत गोलभेंडा, भण्टा, तरबूजा, खरबूजा, काँक्रो, फर्सि, लौका, घिरौँला, करेला, स्कुस, अम्बा, अनार, जुनार, कागती, लिची, आँप, स्याउ, केरा, मेवा, कफी, र बयर आदि बालीहरुमा आक्रमण गर्न सक्दछ।खास गरेर यसले खुर्सानी र फर्सी परिवारका तरकारी बालीहरुमा नोक्सानी पुर्याएको पाइएको छ। 

२. यसरीफल कुहाउने औँसा पार्ने झिँगाको यो जाति क्यू ल्यूर वा मिथाइल युजेनोलमा आकर्षित हुँदैन। प्रोटिन चारोयुक्त पासो भाले तथा पोथी दुवै वयस्क झिँगाहरुको अनुगमन गर्ने एक प्रभावकारी तरिका हो। यसका साथै, झिँगाले फलमा फुल पारेको स्थानको खोजि गर्नु र औसा संक्रमित फलका औंसाहरुलाई पालेर वयस्क झिँगाको पहिचान गर्न सकिन्छ। 

३. यो झिंगा रातो–पहेंलो वा खैरो अनुहारमा एक जोडी ठुलो अण्डाकार काला धब्बाहरु र पेट पहेंलो–रातो हुन्छ। छातीको माथिल्लो भाग खैरो–कालो र दाँया–बाँया दुवै पखेटा–आधार तर्फ एक एक वटा पहेंलो पट्टी हुन्छ। छातीको तल्लो भाग पहेंलो हुन्छ। पारदर्शी अग्र पखेटाको अघिल्लो किनारमा गाढा खैरो पट्टी हुन्छ जो पखेटाको अग्र भागमा बाक्लो गरी धब्बा रुपमा फैलिएको देखिन्छ। यसैगरी, यसै पखेटाको तल्लो भागमा अर्को खैरो पट्टी देखिन्छ।

खुर्सानी कुहाउने झिँगा (ब्याक्ट्रोसेरा ल्याटिफ्रोन्स)को व्यवस्थापन :

अधिकारी र जोशी (२०८१) अनुसार फल कुहाउने औंसा पार्ने झिँगाको प्रभावकारी व्यवस्थापन रणनीतिको लागि व्यवस्थापनका देहाय बमोजिमका विधिहरु एकीकृत तवरले समुदायस्तरमा अवलम्वन गर्न सिफारिस गरिएकोछ। 

क) औंसा कीरा संक्रमित खेतबारीको सरसफाईः 

हरेक दिन संक्रमित र झरेका फलहरू सङ्कलन गरेर खाडलमा पुर्ने वा पानीमा डुबाउने वा प्लास्टिकको झोलामा राखी बन्द गरेर औसालाई प्यूपा अवस्थामा जानबाट रोकी जीवन–चक्र बिथोल्न सकिन्छ ।

ख)सीमित क्षेत्र (स्पोट) उपचार विधिबाट प्रोटीन बेट/चारोको प्रयोगः 

प्रोटीन हाइड्रोलाइसेटमा आधारित चारो, जस्तैः ग्रेट फ्रुट फ्लाई बेट (हाईड्रोलाईसेट प्रोटीन २५% र एबामेक्टिन कीटनाशक बिषादी ०.१%) को प्रयोग गर्न सकिन्छ। यस प्रोटिन बेटलाई प्रयोग गर्न यसको १ भागमा २ भाग पानी मिसाएर घोल तयार गर्नु पर्दछ। यस घोलको प्रयोग खुर्सानीको फूल फल्ने समय देखि प्रत्येक ७ दिनको अन्तरालमा खुर्सानीको बोटको पातहरुको तल्लो भाग तर्फ प्रत्येक ७ देखि १० मिटरको फरकमा ०.५ देखि १ वर्ग मिटर क्षेत्रमा छर्नु पर्दछ। यस प्रकारको उपचार प्रति रोपनी ७ देखि १० वटा स्पोट बनाई प्रति स्पोटमा अधिकतम २५ देखि ३० मि.लि. घोल छर्नु पर्दछ। यस विधिलाई क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम -AWCPको विधि अनुसार सामुदायिक रुपमा अबलम्वन गरेमा कीराको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ। 

ग) बाली व्यवस्थापन अभ्यासहरूः 

सिफारिस गरिएका बाली व्यवस्थापन अभ्यासहरू जस्तै नियमित काँटछाँट, उपयुक्त मात्रामा मलजल प्रयोग गर्ने आदि पालना गर्नु पर्दछ।

घ) खनजोतः 

झिँगाका औंसाहरु माटो मुनि अचल अवस्थामा जाने गर्दछन्। त्यसैले खेतबारीको जमीन खनजोत गर्नाले कीराको औंसा साथै प्यूपा नष्ट हुन्छन्।

ङ) क्वारेन्टाइन उपायः 

झिँगा कीराको पुनरुत्थान र फैलावट रोक्न संक्रमित फललाई जथाभावी फाल्नु हुदैन। औंसा कीरा संक्रमणको शंकास्पद फल समेत एक ठाउँबाट अन्यत्र ओसार–पसारमा बन्देज गर्नु पर्दछ। यो कीरा समस्या नभएको ठाउँमा औंसा कीरा संक्रमित फलहरू लैजानु हुदैन। यस्ता फलहरु औंसा कीरा संक्रमित खेतबारीको सरसफाइको विधि अनुसार नष्ट गर्नु पर्दछ। कीराको प्रवेश र फैलावट रोक्न क्वारेन्टाइन उपायहरू कडाईका साथ पालना गर्नु पर्दछ।

च) जाली घर भित्र खेती गरेर झिँगाको प्रवेश तथा फुल पार्ने कार्य रोक्न सकिन्छ।

छ) वानस्पतिक विषादीको प्रयोगः 

वयस्क झिँगाले फुल पार्न रोक्नको लागि खेतबारीमा निममा आधारित एजाडिराक्टिन ०.०३५ विषादी ३–५ मिलिलिटर प्रति लिटर पानी मिसाई बोट भिज्ने गरी छर्नु पर्दछ।

ज) माटो उपचारः 

उत्पादन  लिईसके पछि औंसा साथै प्यूपाहरु मार्न निमको पिना ५०–६० किलोग्राम. प्रति हेक्टर वा मालाथियन ५% डी.पी. २० किलोग्राम. प्रति हेक्टरको दरले माटोमा मिसाई उपचार गर्ने। मालाथियन प्रयोग गरेको खेतबारीमा कम्तिमा २ हप्ताको लागि कुखुरा वा अन्य जनावरहरू चराउनु हुदैन।

झ) विषादीको प्रयोगः 

रासायनिक बिषादी मालाथियन ५०% ई.सि. २ मिलिलिटर प्रति लिटर पानी वा रासायनिक बिषादी एबामेक्टिन १.८० ई.सी. १ मिलि लिटर प्रति लिटर पानी वा स्पिनोस्याड ४५% एस.सि. १ मिलिलिटर प्रति ३ देखि ५ लिटर पानीमा मिसाई १५ दिनको अन्तरालमा छर्नु पर्दछ। रसायनिक विषादी प्रयोग गर्दा त्यसमा ६० देखि ६५ ग्राम सख्खर /भेली मिसाई छर्दा प्रभावकारी हुन्छ।

कीरा व्यवस्थापनका लागि रासायनिक विषादी प्रयोग गर्नै पर्ने अवस्थामा सुरक्षित पहिरन प्रयोग गरी छर्नु पर्दछ। साथै, विषादी छरिसके पश्चात् पर्खन पर्ने अवधि पालना गर्नु पर्दछ।


सन्दर्भ सामाग्रीहरुः

CABI, -2024_, Bactrocera latifrons (Solanum fruit fly). CABI Compendium. https//www.cabidigitallibrary.org.doi/10.1079) & (cabicompendium.8719)

अधिकारी, देवराज र जोशी, समूद्र लाल। (२०८१)। खुर्सानी कुहाउने झिँगा (ब्याक्ट्रोसेरा ल्याटिफ्रोन्स)को व्यवस्थापन। प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र, हरिहरभवन, ललितपुर।

लेखकहरु :  सरोज राई (स.बालि संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र संखुवासभा। )

डा. देवराज अधिकारी, बरिष्ठ बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र, हरिहरभवन, ललितपुर।







प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार