१.परिचय :
सुन्तलाजात फलफूल (निबुवा, जुनार, सुन्तला आदि) को फल विभिन्न प्रजातिका झिँगाहरुले औसाको माध्यमबाट कुहाएर नोक्सान पुर्याउदै आएको छ। साधारणतय सुन्तलाजात फलफूलमा दुई किसिमका झिँगा ब्याक्ट्रोसेरा मिन्याक्स र ब्याक्ट्रोसेरा डोरसालिसले नोक्सान पुर्याउदै आएको पाइएको छ । पछिलो अवस्थामा सुन्तलाजात फलफूल खेती हुने नेपालको पहाडी जिल्लाहरु संखुवासभा, धनकुटा, रामेछाप, सिन्धुली, तेह्रथुम, पाँचथर आदी क्षेत्रमा ब्याक्ट्रोसेरा मिन्याक्स प्रजातिको झिँगाले विगत ६–७ बर्ष देखि सुन्तलाजाल फलफूलको फलमा औसा पारी कुहाई ठूलो ह्रास ल्याउदै सुन्तलाजात फलफूल खेती गर्ने किसानहरुका लागि जटिल समस्याको रुपमा देखा परेको छ ।
२.नेपालमा ब्याक्ट्रोसेरा मिन्याक्सको पृष्ठभूमि :
नेपालमा नभएको यस प्रजातिको झिँगा (ब्याक्ट्रोसेरा मिन्याक्स) को उत्पत्ति भने चीनबाट भएको पाइन्छ। चीनबाट भुटान, भारतको सिक्किम हुँदै नेपालको पूर्वी पहाडी भागबाट प्रवेश गरेको हो भन्ने अनुमान लगाउन सकिन्छ । वि.स.२०७२ सालमा सिन्धुली जिल्लाको जुनार खेतीमा २१ प्रतिशत क्षति, वि.सं. २०७३ सालमा २२ प्रतिशत क्षति र वि.स. २०७४ सालको उत्पादनमा ३० प्रतिशत भएको तथ्याङक छ । त्यसैगरी वि.स.२०७३ सालतिर धनकुटा, भोजपुर, खोटाङ्ग जिल्ला क्षेत्रभित्रमा जुनार उत्पादनमा ६०–७० प्रतिशत क्षति गरेको थियो । संखुवासभा जिल्लामा पनि वि.स. २०७६ साल कार्तिक, मंसिरमा पहिलो पटक सर्वेक्षण गर्दा करिब २०–२५ प्रतिशत उत्पादनमा क्षति, वि.स. २०७७ सालमा क्षति बृद्धि भई करिब ३० प्रतिशत पुगेको पाईएको छ ।
वि.स.२०७६ को कार्तिक, मंसिर महिनामा संखुवासभा जिल्लाको सुन्तलामा औंसाले २०–२५% फल नष्ट गरेको पाईएको थियो तर कुन जातको औंसा हो भन्ने कुरा एकीन भएको थिएन । त्यसैले हामीले प्रभाबित ठाउंहरुबाट संक्रमित फलहरुको नमुना संकलन गरी लार्भाहरु (maggots) पालेका (Rearing)थियौ। मिति २०७७ जेष्ठ ०५ गते उक्त लार्भाहरुले प्यूपा अवस्थाबाट जम्मा २०१ दिनमा वयस्क भएको देखियो। निस्किएका वयस्क झिंगाहरु (Bactrocera minax -Chinese Fruit fly) हुन् भनेर पहिचान थाहा भयो। त्यसैगरी आ.ब. २०७७/७८ पनि संक्रमित क्षेत्रमा गई स्थलगत रुपमा क्षति भएको सुन्तलाजात फलफूलको क्षति भएको फलहरु प्रत्यक्षरुमा किसानहरुको सहभागितामा झिँगाको औसाहरु जम्मा गरी पालेका थियौ तर यो बर्ष भने पहिलेको बर्ष भन्दा अगाबै प्युवाबाट १६१ दिनमा वयस्क झिँगा निस्केको थियो। स्थलगत अनुगमनको क्रममा कार्तिक १५ सम्मा प्रायः सबै झिँगाका औसाहरु प्युपेशनको लागि सबै माटोमा गईसकेको पाईएको थियो किन कि कार्तिक १५ पछि सुन्तलाजात फलफूको फल हेर्दा फलमा औसा भेटिएको थिएन तर रस खाएर खोक्रो भएको फल भने भेटिएको थियो।
३. ब्याक्ट्रोसेरा मिन्याक्सको पहिचान :
वयस्क झिँगामा तपशिलका गुणहरु पाईन्छ :
यसो हेर्दा सुन्तले–पहेलो र खैरो रंगको बारुला जस्तो देखिने,
झिँगाको शरिर औसतः १२ मि.मि. र पखेटा १० मि.मि. लामा हुन्छ,
वयस्क माउको छातीको माथि पट्टिको भागमा तीन ओटा पहेंला धर्साहरु हुन्छन्
अन्य प्रजातिको तुलनामा पेटखण्ड लाम्चो हुन्छ,
पखेटाको अगाडीको भागमा फराकिलो गाढा खैरो धब्बा देखिन सकिन्छ ,
पोथी झिँगाको अन्तिम पेट खण्डमा चुच्चो परेको तिखो फुल पार्ने भाग (ओभिपोजिटर) देखिन्छ
पेटको पछाडी भागमा टि–आकार माथि सम्म गएको देखिन्छ
समग्रमा भन्नु पर्दा अन्य प्रजाति भन्दा यो ठुलो हुन्छ।
४. ब्याक्ट्रोसेरा मिन्याक्सको जिवन चक्र :
यो झिँगाको ४ अवस्थामा फुल, लार्भा (औसा), प्युपा र वयस्कमा १ बर्ष समय अवधिमा जिवन चक्र पुरा गर्दछ। यसले सर्वप्रथम सुन्तलाजात फलफूलको मसिना दाना गुच्चा आकार (चिचिला) अवस्थामा पोथी झिंगाले आफ्नो फुल पार्ने अंग (ओभिपोजिटर)ले दानाको बोक्रा छेडी बोक्रको बिच सतहमा अण्डा पार्दछ। अण्डा पारेको करिव १ महिनामा अण्डाबाट लार्भा/औंसा निस्कन्छ र फल बद्धि भए संगै औंसाहरुको पनि विकास भई राखेको हुन्छ र पुष्ट फलको रस, गुदी ६० दिन सम्म खाएर औसा छिपिन्छ र फलको बोक्रामा प्वाल पारेर बाहिर निस्कन्छन् वा संक्रमित फलहरु बोटबाट झर्छ त्यस पछि कार्तिक १५ गते सम्ममा माटो मुनि अचल अवस्था (प्युपा) मा जान्छन्। छिप्पिएका लार्भा फलबाट बाहिर निस्कि अर्को अवस्था – प्युपा बन्नको लागि माटो खनेर ४ देखि ५ से.मी. मुनि गई (धेरै मुनिमा १५ देखि १८ सेमि सम्म) माटो मुनि गएको पाईएको छ। संखुवासभा जिल्लामा झिँगाको अचल अवस्था (प्यपा) ५ देखि ७ महिना बसि वयस्क (माउ) झिंगाको रुपमा आएको पाईएको छ। संखुवासभा जिल्ला क्षेत्र भित्र वयस्क पोथी झिंगाले बैशाख देखि साउन महिनासम्म अण्डा पर्न सक्रिय भएको पाईएको छ।

५.व्यवस्थापन गर्ने विधिहरु :
यो झिँगा कुनै पनि पारा फेरोमन ट्रयाप जस्तैः मिथाईल युजिनोल, क्युलियोरमा आकर्षक गरेर मार्न सकिदैन। यस झिँगालाई मध्यनजर राखी समस्याग्रस्त क्षेत्रमा व्यापक नियन्त्रण कार्यक्रमको अवधारणा कीरा व्यवस्थापन एकीकृत र समष्टिगत रुपमा नियन्त्रण कार्य परिचालन न्यायोचित र वातावरणीय दृष्टिमा सन्तुलित र दिगो हुन्छ । ती हुन् व्यवस्थापकीय पक्ष र प्राविधिक पक्षः
(क) व्यवस्थापकीय पक्षमाः सरोकारवालाहरुसंग सरसल्लाह, बगैचामा स्प्रे गर्ने योजना, स्प्रेकर्ताहरु र बगैचाधनीहरुलाई अभिमुखीकरण, अनुगमन र पृष्ठपोषण पर्दछ।
(ख) प्राविधिक पक्षः अन्तर्गत संकलन, अनुगमन समय समयमा प्रोटिन बेट स्प्रे कार्य र औसा प्यूपा अवस्थामा जान नदिन सरसफाई अवलम्बन कार्य पर्दछ।
सुन्तलाजात फलफूलको बगैंचा स्थापना र व्यवस्थापनका लागि कृषि प्राविधिकको सल्लाह अनुसार प्रत्येक वर्ष काँटछाट गर्ने र मल तथा सिंचाईको राम्रो व्यवस्था गर्ने ।
औंसा लागेका फलहरुलाई जथाभावी नफाली जमिनमा ३ फिट खनेर कम्तीमा ३० सेमि माटो मुनि पर्ने गरि पुरी दिने वा प्लाष्टिकको कालो ड्रममा प्रत्येक दिन जम्मा गरी टम्म बिर्को लगाई घमाईलो स्थानमा राख्ने र सम्भव भए जलाई दिने वा पशुहरुलाई पकाएर आहारको रुपमा पनि दिन सकिन्छ । (बिशेष गरेरः असोज देखि कार्तिक महिनामा)
क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रमको विधि अनुसार गाउँ, टोल (समुदाय) को बगैंचा समेटेर फलेका ३ बोट मध्ये १ बोटको निश्चित ठाउँमा चिन्ह लगाई एक भाग प्रोटिन बेट (ग्रेट फ्रुट फ्लाई बेट जसमा २५ % प्रोटिन हाईड्रोलाईसेट र ०.१ % एबामेक्टिन कीटनाशक विषादी हुन्छ) मा दुई भाग पानी मिसाई तयारी प्रोटिन बेटको घोल स्पोट एप्लिकेशन विधि अनुसार हप्ताको १ पटक जम्मा १० पटक स्प्रे गर्ने । विषादी छर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाई सावधानी पूर्वक छर्ने ।
६. क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रमको विधि :
सर्वप्रथम हामीले संक्रमित क्षेत्रको बगैचाबाट फल फल्दै गरेको बोट संख्याको विवरण लिने।
यसको लागि समूदायको कुनै पनि बगैँचा छुटाउनु हुदैन
यो कार्यक्रम गर्ने बगैँचाहरु अन्य संक्रमित बगैँचा भन्दा करिब २ किलोमिटर दुरीमा हुन आवश्यक छ।
यस कार्यक्रमबाट ब्याक्ट्रोसेरा मिन्याक्सको पोथी झिँगा मार्ने गरिन्छ। किन कि पोथि झिँगा भाले झिँगा संग समागन गर्नको लागि प्रेटिन युक्त आहार खानु पर्ने हुन्छ।
यो कार्यक्रम बैशाखको पहिलो हप्तादेखि शुरु गर्ने।किन कि यस समयमा सुन्तलाजात फलफूलको फल गुच्चा जत्रो आकारको हुन्छ।
सम्पुर्ण बोटमा भने स्प्रे गर्नु पर्दैन। यसको लागि ३ बोट बराबर स्प्रे गर्न १ बोट छनौट गरे पुर्ण हुन्छ।
छनौट गरेको बोटको पनि घामले अलिक कम भेट्ने अनि बाक्लो पात भएको ठाउँ छनोट गरी रातो रिबन बाँध्ने।
उक्त रिबन बाँधेको स्थानमा माथि उल्लेखित मात्रा/ परिमाणको प्रोटिन बेट करिब ०.५ वा १ वर्ग मिटरको क्षेत्रफलमा मजाले भिज्ने गरी ८ देखि १० पटक १ हप्ताको फरकमा स्प्रे गर्ने।
स्प्रेकर्ता पुर्व तयारी गरी उक्त क्षेत्रमा एकै दिन स्प्रे गरिसक्नु पर्ने हुन्छ।
यो कार्यक्रम प्रत्येक बर्ष गर्ने किन कि १ बर्षमा पुर्ण व्यवस्थापन गर्न सकिदैन।
सन्दर्भ सामाग्रीहरुः
—अधिकारी ,देवराज र समुद्र लाल जोशी। २०७५/७६।
–सुन्तलाजात फलफूलको फल कुहाउने झिँगा, चाईनिज सिट्रस फ्लाई (व्याक्ट्रोसेरा मिन्याक्स), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ, जुनार सुपरजोन, सिन्धुली।
–सुन्तलाजात फलफूल खेती प्रविधि,२०७६राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटा।
-Fruit Fly ID Australia.
Yo kasari niyantrad hunxa ta
Yo kasari niyantrad hunxa ta