संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१ पोक्लाबुङ्गमा आयोजित चौथो पोक्लाबुङ्ग फुटबल कपको उपाधी सयपत्री युवा क्लबले जितेको छ ।
मंगलबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आयोजकलाई ०–३ गोल गर्दै सयपत्री युवा क्लबले उपाधी हात जितेको हो । त्यसैगरि प्रतियोगिताको उपबिजेता आयोजक पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लब भएका थिए ।
प्रतियोगिताका विजेता सयपत्री युवा क्लबले उपाधीसँगै नगद ३० हजार, तीन वर्षे कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लबले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लबका अध्यक्ष प्रदिपकुमार लिम्बुले जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताका विजेतालाई एक कार्यक्रम बीच क्लबका अध्यक्ष लिम्बुले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा आयोजक सहित १५ टिमको सहभागीता रहेको थियो । फागुन १२ देखि शुरु भएको प्रतियोगिता १५ गते सम्पन्न भएको हो ।