फागुन २१ गते प्रतिनिधीसभाको निर्वाचनबाट झण्डै दुई तिहाई नजिक रहेका बहुमत प्राप्त बालेन्द्र शाह नेतृत्वको सरकार बनेको छ । अघिल्लो निर्वाचनमा २१ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताले झण्डै दुई तिहाइ नजिक १८२ सिट दिएको छ । १६५ प्रत्यक्ष र ११० सिट समानुपातिक गरि २७५ सिट रहेकोमा रास्वपा एक्लैले झण्डै दुई तिहाइ १८२ सिट जितेर स्पष्ट बहुमत सहित ठूलो दल बनेको छ । १८४ भए बहुमत हुने अवस्था २ सिट कम हुदाँ दुई तिहाई प्राप्त गर्न सकेन ।
पूराना पार्टीहरुले आमजनता माथि विश्वासघात गरेको, पटक पटक सरकारको नेतृत्व गरेपनि जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको भन्र्दै नेपाली जनताहरु वाक्क दिक्क भएर ०८१ भदौ २३ र २४ गते जेनजी आन्दोलन गरेका थिए । आन्दोलनले २७ घण्टामा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार लडाएर प्रतिनिधीसभाको चुनाव तर्फ मुलुक मोडिएको थियो ।
स्पष्ट बहुमत सहितका बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि देशभरका नागरिकमा नयाँ आशा पलाएको छ । हेरौ अब बालेन्द्र नेतृत्व सरकारले कसरी काम गर्छ भन्ने आमनागरिक जिज्ञासु बनेको अवस्था छ । राजनीतिक अस्थिरता र बारम्बार सरकार परिवर्तनको श्रृंखलाबाट थकित जनताले यस्तो बहुमतलाई स्थायित्व, समृद्धि र सुशासनको अवसरका रूपमा हेरेका छन् । बलियो जनादेश प्राप्त सरकारलाई नीतिगत निर्णय लिन सहज बनाउँछ, संविधान संशोधन गरि आवश्यकता अनुसार बनाउन सकिन्छ, विकासका योजनाहरूलाई तीव्रता दिन सक्ने विश्वास दिलाउँछ र दीर्घकालीन सोचका साथ देश अघि बढ्ने आधार तयार पार्छ । आमनागरिकले यही आशा गरेका छन् ।
नागरिकले यस्तो सरकारबाट केवल भाषण होइन, व्यवहारिक परिवर्तनको अपेक्षा राखेका छन् । रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा सुधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन स्थापना जस्ता विषयहरू प्राथमिकतामा पर्नुपर्छ । दुई तिहाईको शक्ति केवल संसदमा मत गणनाको विषय मात्र होइन, जनताको विश्वासको प्रतीक पनि हो । यसलाई जिम्मेवारीपूर्वक उपयोग गर्न सकेमात्र जनतामा जागेको आशा विश्वासमा परिणत हुन्छ ।
अन्त्यमा, झण्डै दुई तिहाई नजिकको बालेन्द्र सरकारलाई अवसरका साथ साथै चुनौती पनि छन् । जनताको आशालाई निराशामा बदलिन नदिन सरकारलाई परिणाममुखी काम गर्नैपर्छ। यदि यसले सुशासन, विकास र समृद्धिको बाटोमा ठोस उपलब्धि हासिल गर्न सकेमा मात्र नागरिकमा पलाएको आशा दीर्घकालीन विश्वासमा रूपान्तरण हुनेछ । यो सुनौलो अबसरलाई सदुपयोग गरि जनताको अपेक्षा अनुसार काम गर्न सकेन भने रास्वपा अर्थात बालेन्द्र सरकारलाई जनताले पुरानो दल जस्तै अर्को निर्वाचनमा परिणाम देखाउनेछन् । त्यसैले जनताको अभिमतको कदर गरि मुलुकलाई विकास र समृद्धिको पाइलामा अगाडी बढाउन सकियोस् ।