- मोहन कुमार राई
संखुवासभा । चैनपुर नगरपालिकास्थित संखुवासभा बहुमुखी क्याम्पसको सभाहलमा जिल्ला सरकारी वकिलद्वारा समुदायमा सरकारी वकिल तथा कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सरकारी वकिलको संगठनात्मक स्वरुप, सरकारी वकिलको मुख्य काम, कर्तव्य, र अधिकार, सरकारवादी मुद्धामा संलग्नता, सफल न्याय प्रणाली जस्ता विषयहरुमा छलफल गरिएको थियो ।
सरकारी वकिल कार्यालयहरु र सरकारी वकिलहरुले गर्ने काम कारवाहीका वारेमा सर्वसाधारणको बुझाइ, सेवाग्राही वा सरोकारवालाहरुलाई जानकारी प्रदान, सरकारवादी मुद्धाको अनुसन्धान, अभियोजन, साक्षी, प्रमाणको संकलन र प्रस्तुतीकरण समेतको प्रक्रियामा समुदायमा जानकारी गराई ती प्रक्रियामा समुदायबाट सहयोग प्राप्त हुने वातावरण निर्माण गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रमको सहजीकरण जिल्ला सरकारी वकिल कार्यालय संखुवासभाका जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाले गरेका थिए ।
नेपाल सरकारको प्रमुख संवैधानिक एवं कानूनी सल्लाहकार, नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने नचलाउने निर्णय, नेपाल सरकारको हकहित सरोकार भएको मुद्दामा प्रतिनिधित्व गर्ने सरकारवादी मुद्दा फिर्ता लिदा राय दिने तथा संघीय संसद वा समितिमा उपस्थिति भई कानूनी राय दिने संविधानको धारा १५८ अनुसार सरकारी वकिलको काम, कर्तव्य र अधिकार अन्तर्गत रहेको समेत जिल्ला न्यायाधिवक्ता निरौलाले जानकारी दिए ।

उक्त जाहेरी, पक्राउ प्रदिवादीको सरकारी वकिल समक्ष बयान, भ्रमपूर्ण झुट्टा वा काल्पनिक सूचनालाई तामेलीमा राख्न सक्ने वा थप अनुसन्धानका लागि पठाउन सक्ने, म्याद थप सिफारिस गर्ने वा बहस पैरवीमा उपस्थित, थुनछेकमा पैरवी थुना/धरौटी सम्बन्धी माग, दफा ७३ नं. अन्तर्गतको निवेदन, सरकारी पक्षका साक्षीको प्रस्तुती, वकपत्र र जिरह पेशीमा बहस पैरवी, मुद्दाको तथ्यको प्रस्तुती, अभियोग दावी पुष्टि गर्ने आधार, अनुसधानमा परेका कानूनी समस्याको निकास दिने, अनुसन्धानमा अन्य आवश्यक सहयोग एवं निर्देशन गर्ने, हिरासतमा रहेको व्यक्तिलाई हाजिर जमानीमा छाडन अनुमति दिन सक्ने, मुद्दा चल्ने/नचल्ने निर्णय, अभियोग दायर, मुद्दाको पुनरावेदन, दोहोर्याउने निवेदन वा अन्तिम निर्णय, सरकारवादी हुने देवानी मुद्दाको दायरी एवंप्रतिरक्षा, रिट प्रतिरक्षा जस्ता क्षेत्रमा सरकरवादी मुद्दामा सरकारी वकिलको संलग्नता रहने समेत जिल्ला न्यायाधिवक्ता निरौलाले बताए ।
सरकारी वकिलको संगठन स्वरुप अन्तर्र्गत महान्यायाधिवक्ताको कार्यालय १, उच्च सरकारी वकिलको कार्यालय १८, विशेष सरकारी वकिलको कार्यालय १, जिल्ला सरकारी वकिलको कार्यालय ७७ वटा रहेको छ ।
संखुवासभा बहुमुखी क्याम्पस क्याम्पस प्रमुख चुडाबहादुर कटुवालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय संखुवासभाका सहायक जिल्ला न्यायाधिवक्ता रेवती सुवेदी, इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक पर्शुराम राई, क्याम्पसका प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
