पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पताल २०३३ सालमा स्थापना भएको हो । अहिले यो अस्पताल पूरानै भवनबाट नै संचालनमा रहेको छ । त्यतिबेला बनेको १५ बेडको अस्पताललाई केही मर्मतसम्भार र केही खाली ठाउँहरुलाई सदुपयोग गर्दै जसोतसो संचालन गरिरहेको छ । ५० बेडको अस्पताल स्वीकृत भएपनि भवन निर्माण कार्य सम्पन्न नहुदाँ अस्पतालले पुरानै भवनबाट सेवा दिन बाध्य भएको छ ।
पूरानो भवन र ठाउँ अभावका कारण अस्पतालले अस्पताल परिसर भन्दा बाहिर निजी ब्यक्तिको घरहरु भाडामा लिई अस्पतालका कतिपय सेवाहरु संचालन गरिरहेको छ । ति भाडामा लिए वापत बार्षिक झण्डै २५ लाख रुपैया भाडा वापतको रकम भुक्तानी गर्नुपर्ने बाध्यता रहेको अस्पतालको भनाइ छ । अस्पतालको १५ बेड देखि ५० बेडको स्वीकृत गर्न र हालको बजेट बिनियोजन गर्न तत्कालीन संखुवासभाबाट निर्वाचीत पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको विशेष योगदान रहेको छ । गगन थापा स्वास्थ्य मन्त्री र गुरुङ स्वास्थ्य राज्यमन्त्री भएको समयमा जिल्ला अस्पताल ५० बेड स्वीकृत भएको हो ।
५० बेडको अस्पताल बन्ने र आधुनिक सेवासुविधा समेत यही पाउने भएपछि नागरिकहरु निकै धेरै आशाबादी र खुशी भएका थिए तर सुविधा सम्पन्न अस्पताल संचालन आउन धेरै समय लागेपछि मानिसहरु अनेक थरी कुरा र आलोचना गर्न थालेका छन् ।
०७५ सालमा भवन निर्माण ठेक्का लागेपछि निर्माण ब्याबसायीले समयभित्र काम सम्पन्न नगर्दा अहिले सम्म भवन हस्तान्तरण हुन सकेको छैन् । जिल्ला अस्पतालको नवनिर्मित भवनको तीन वटा ब्लकमा छुट्टाइएको छ । तीन वटा ब्लक मध्ये (ए) र (वि) को निर्माण कार्यसम्पन्न भएको छ भने ब्लक (सि)को काम सम्पन्न हुन अझै ६÷७ महिना लाग्ने देखिन्छ । आगामी ०८१ मंसिर सम्म ब्लक (सि)को म्याद नै थप भईसकेको छ ।
सन्दर्भ जोड्न खोजेको खाँस के हो भने गत मंगलबार अस्पतालको नवनिर्मित तीन वटा ब्लक मध्ये (ए) र (वि) औपचारिक रुपमा हस्तान्तरण नभई अस्पतालले प्रयोग गर्दै गर्ने निर्माण ब्याबसायी, सघन शहरी तथा भवन निर्माण आयोजना र अस्पताल बीच सहमति भएको थियो । अस्पतालले बार्षिक २५ लाख रुपैयाको हाराहारीमा भाडा तिरिरहनु परेको अवस्था र अस्पतालको दुई वटा ब्लक सम्पन्न भएकाले सर्दै गर्ने भन्ने मनशाय थियो । सोही मनशाय अनुसार ब्लक (ए) र (वि) हस्तान्तरण कार्यक्रमको आयोजना गरियो, त्यहाँ जिल्लाका राजनैतिक दल, नागरिक समाज, सिडियो, डियसपी, स्थानीय नागरिक र पत्रकार लगायतका ब्यक्तिब्यक्तित्व र संघसंस्थाहरुलाई आमन्त्रण गरिएको थियो ।
उक्त कार्यक्रममा भवन हस्तान्तरण भन्दा अघि भवनको गुणस्तर र यो भन्दा अगाडी पटक–पटक देखिएको समस्याका बारेमा बिषय उठान भयो । दलहरुले उठाएको बिषय ठिकै हो तर हामी यही नागरिक समेत भएकाले अस्पतालले ठाउँ अभावमा बाहिर भाडामा लिएर अस्पतालका सेवा संचालन गर्नुभन्दा दुई वटा ब्लक संचालन गर्दै गर्दा केही फाइदा हुने थियो भन्ने लाग्छ । दुई वटा ब्लकमा समस्या होइन, खाँस समस्या भएको ब्लक (सि) भएकाले दुई वटा ब्लक छिट्टै बुझि संचालनमा ल्याउदै गर्नु नै उत्तम हो भन्ने लाग्छ ।
अन्त्यमा, अस्पताल प्रशासनको पूर्वतयारी नपुगेका कारण भवन हस्तान्तरण कार्यक्रम रोकिएको हो । पूर्वतयारी गरि भवन सार्दै गर्नु नै हामी नागरिक र अस्पतालको हितमा छ । स्वास्थ्यको क्षेत्रमा राजनीति नगरौं, सबैको सहमति र सहकार्यमा जोड दिऔं ।।