मकालु वडा नं. ५ को सार्वजनिक सुनुवाई सम्पन्न गरी हामी शुक्रबार वडा नं. ६ तर्फ लाग्यौं । बाढी र पहिरोले सडकको हालत बिग्रिएपछि हामी पैदल यात्रामा आम्राङतर्फ लाग्यौ । बाटो सहज हुँदा सोलाखानी सम्म मोटरसाइकलमा जान सकिन्थ्यो । आम्राङ पुग्दासम्म थुप्रै पहिरो छिचोल्नु प-र्यो हामीले । कहिँ माथिबाट आएको त कहिँ तलबाट सडक कटान गरेको । आम्राङ्बाट वडा नं. १ को वालुङवेसी हुँदै वडा नं. ६ जाने निर्णय भयो । आम्राङबाट ओरालो लाग्दा देखि नै ठूलो पहिरोमा परियो । जसोतसो पहिरो पार लगाइयो तर सडक मै हिडन पनि कम असहज थिएन । जुन बाटो हामी एकसाता अघि मोटरसाइकलमा सहज यात्रा गर्दै वडा नं. १ को सार्वजनिक सुनुवाइ गर्न गएका थियौं । केही ठाउँ सडक प्रयोग गर्दा जोखिम हुने भएपछि पहिरोबाटै अरुण नदि पुग्यौं र बेलिब्रिज त¥र्यौ । वडा नं. १ को भूगोल टेक्ने बित्तिकै पहिरो आएर खोल्सो थुनिएपछि सिधै सडकमा छाँगा बनेर खसेको रहेछ । सडकको निशाना अरुणमा विलिन भएछ । खोल्सो बढेर तर्न नसक्ने खोला बनेको रहेछ, त्यही खोला पार गर्न कठिन भयो । खुट्टा चिप्लि हाले हामी अरुणमा समाहित हुन पथ्यौं तर त्यसो हुन पाएन । यहाँबाट इप्सुवा इनर्जीले पावरहाउस जान खोलेको सडक हुँदै पावरहाउस नजिक पुग्यौं । यहा आएपछि हाइड्रो कम्पनीले पहिरोमा खतराको संकेत गरेको रहेछ । जहाँ निरन्तर पहिरो खस्ने रहेछ । हामी बाटोमा भन्दा धेरै माथितिर हेरेर यसलाई पार लायौं ।

अहिले वर्षाका कारण होला निर्माणको काम रोकिएको थियो । आप्सुवा खोलाको झोलुङ्गे पुल तरेर हामीले वडा नं. ६ प्रवेश ग-र्यौ । उकालै–उकालो यात्रामा बर्खेझरिले हामीलाई साथ छोडेको छैन । साँझ ६ः३० बजे तिर वडा कार्यालय डाँडागाउँ पुग्यौ र कार्यालयमा नै बाँस बस्यौं । यात्राको थकान थियो, छिट्टै सुत्यौ । केहीबेर पछि सुत्न नसक्ने गरि जस्ताको छानामा मुसलधारे ओइरियो । पानीको दर्कनाकले सुत्नै दिएन ।
शनिबार बिहान सोलाखानी र पारी देखिने पाखाहरुमा बाक्लै गरि पहिरो देखिए । आज वडा कार्यालयमा सार्वजनिक सुनुवाई छ । बर्खाको बेला सहभागीको उपस्थिति ढिलै गरि भयो । करिब ३ः३० बजे तिर कार्यक्रम सम्पन्न भयो । आजको बान्स वडा कार्यालयमा नै हुने निश्चित भयो । खानपिन गरेर सुत्यौ । हिजो जस्तै गरि पानीले छाना छेड्ला जस्तै गरि दर्कियो ।
जीवन या मृत्युको त्यो यात्रा
आइतबार बिहान करिब ६ः१५ बजे नुम पुग्न बाटो लाग्यौं । वडाध्यक्ष नरेन्द्रकुमार मेवाहाङ हामीसँगै बास बसेकाले सँगै बाटो लाग्यौं । केही वर आएपछि ठूलो पहिरो खसेको रहेछ । जहाँ पार गर्न मुस्किल भयो । अध्यक्ष ज्युले रिपोर्टिङ गर्न अह्राए । केही भिडियो खिचियो । अलिक वर आएपछि घर माथिबाट आएको पहिरोले नयाँ बन्दै गरेको घरलाई आंशिक क्षति गरेको रहेछ । माथिल्लो घर पूर्ण बिस्थापित हुन लागेछ । यहाँ अध्यक्षको बाइट खिचेर लम्कियौं । अध्यक्षको घर आइपुगे पछि वहाँको यात्रा यहाँसम्म मात्रै रह्यो । सोमबार नुममा भेट हुने बाचा गरेर हामी छुट्टियौ । छुटदै गर्दा वहाँले ठट्टा गर्नुभयो,—‘जोगिएर जानू, मुचुल्का उठाउनु आउनु पर्ला ।’
केहीबेर ओरालो र तेर्सो लागेपछि गाउँ र जङ्गलको बाटो छुट्टिने ठाउँमा उभिएर लक सरले राई माइलाले गाउँ छोड्यो भन्नूभयो । रमाइलो गफ गर्दै सिमसिम पानीमा ओराली झ-र्यौ । केही तल आएपछि अस्ती आएको बाटो ठाउँ–ठाउँमा पहिरोले तानेको रहेछ । म अघि–अघि छु । लक सरले मजाक गर्दै भन्नूभयो,—‘अघि हिड्ने मान्छेले किन बाटो भत्काउदै बिगार्दै हिडेको ?’, म अवाक फिस्स हाँसे ।
निकै तल आएपछि भयानक पहिरो खडा भयो । केहीबेर कसरी पार गर्ने भनेर अलमलियौ । लक सरले फर्कौ यहाँबाट भन्नूभयो—तर मलाई लाग्यो, यहाँ मात्रै पहिरो होला, यो कटेपछि सहजै पुगिएला । त्यसैले पहिरो पार गर्न म सहज ठाउँ खोज्न लागे । लक सर मैले नफर्किने संकेत गरेपछि वहाँपनि त्यतै लाग्नुभयो । म पहिरोको किनारबाट अलिक तल झरे । लक सर माथिबाटै एउटा पहिरो तर्नुभयो । त्यहाँबाट फेरि अर्को त्यतिकै भयानक अर्को पहिरो तर्नु छ । सहज ठाउँ खोज्दा खोज्दै म निकै तल पुगे । लक सर पहिरोको बीचमा देखे पछि वहाँले नै भन्ने गरेको कुराको याद आयो । मोटरसाइकल यात्रामा कहिँ अलि अप्ठ्यारो जस्तो लाग्यो भने वहाँ ओर्ली हाल्नुहुन्थ्यो र म सोध्ने गर्थें । बाटो ठिकै छ त किन ओर्लिहाल्नु भाको ?—‘खबर लाने मान्छे चाहिन्छ । मैले यो बेला यति संम्झिए ।’
म पनि बिस्तारै पहिरो पार गरेर पारी तरे । हामी दुबैले यो ठूलो पहिरोबाट पार पायौं । पारी पुगेपछि अब हिड्ने बाटो पत्ता लाउन सकेनौं । पारी पट्टी पहिरोसम्म आएको बाटोलाई निसाना लाएर हामी भएदेखी केही माथि होला भनेर त्यतै लाग्यौं । बाटो फेला प-र्यो र ओराली झर्यौ, स–साना पहिरोहरु छिचोल्दै । केही तल आएपछि झन् ठूलो पहिरो देख्यौं । लक सरले भन्नूभयो अब चाहिँ जान सकिँदैन । मलाई पनि हिनताबोध भयो, अगि फर्कौ भन्दा मान्नु पर्ने थिएछ ।

अरुण नदि नजिकै उर्लिरहेको आवाज सुनिन्छ । त्यसैले फेरि जोखिम मोलियो । पहिरोबाटै हामी हिड्ने बाटो खोज्न थाल्यौं । माथिबाट पहिरो आइहाले हामी बाँच्ने स्थिती छैन । केहीगरी खुट्टा चिप्लिए आप्सुवाको बगरमा बजारिन पुग्छ । यो पहिरो आप्सुवा खोलामा झरेको छ । यसलाई ज्यानको बाजी थापेर जित्यौ । हामी खुड्किलै–खुड्किला ओर्लदा बाटोसमेत ध्वजा फाँटेकाले बिच्याइएका ढुङ्गाहरु हलचल हुने गथ्र्यौ । केहीठाँउ बाटो कटान गरेर पहिरो खसेको छ । सामान्य पानी परिरहेकाले पहिरो खसिहाल्छ्की भन्ने डर कम्ती थिएन । म अघि–अघि नै छु । आप्सुवा र अरुणको दोभान देखेँ । अरुण ठूलो रुप लिएर बङ्गालको खाडीतर्फ बगेको छ । पारी पट्टी थोरै आप्सुवा पुल देखेँ । लक सर अलिक पछि आउदै हुनुहुन्थ्यो । म हतार गर्दै पुलतर्फ लागे । तर जब पूरा पुल देखिने ठाँउमा पुगे । पुल आधा मात्रै झुन्डिएको थियो । यो देख्दा म हरेस खाइसकेको थिएँ । आज हाम्रो जीवनको अन्तिम यात्रा रहेछ । म अलिक वर फर्किए । लक सरलाई सुनाए । वहाँले नपत्याए जस्तो गरि हेर्न लाग्नुभयो । पुलको त्यो हालत देखेपछि वहाँले भन्नूभयो, अब हामी फस्यौं । जाने ठाउँ पनि छैन, फर्किनेनी छैन । म आधा भईसकेको थिएँ ।
वहाँ केही गरि तर्न सकिन्छ कि भनेर निकै तलसम्म पुग्नुभयो । सम्भावना नभएपछि म भए तिरै फर्कनु भयो । माथिबाट आएको पहिरोले पुलको क्षति गरेको थियो ।
पानी सिम–सिम छदैछ । यो गति बढे माथिबाट पहिरो खस्ने निश्चित छ, अनि हाम्रो जीवनलिला समाप्त हुनेछ । अब मैले सोच्नु–नसोच्नु सबै सोचे । घरपरिवार, आफन्त सबै । मलाई लाग्यो अब हामी फर्कन सक्दैनौं । फोन गरि कसैलाई हाम्रो बारे जानकारी दिउँ, नेटवर्क छैन । अब बाँचिएछ भने पनि रेस्क्यु (उद्धार) हुन सक्दैन । अघि वडाअध्यक्षले ठट्टा गरेको नि संम्झिए । सायद तेस्तै हुनु थियो नै कि भन्ने पनि लाग्यो । अनि मुचुल्कै गर्न आउँदा नि के होला र हामीलाई भेट्ने छैन । विधि पु¥याउलान्, तेत्ति न हो । यो बीचमा लक सरले के–के भन्नूभयो मैले कति जवाफ फर्काए, मलाई पत्तै भएन । मैले भने तल बगरमा ओर्लन पाए जसोतसो छोयाङ्तर्फ गएको सडकबाट फर्किन सकिन्थ्यो कि ? तर त्यसको बिकल्पै थिएन । लक सरले भन्नूभयो, स्काउटले खै कति लामो हो डोरी कम्मरमा भिरेको हुन्छ, यस्तो बेला काम लाग्छ । मैले प्रतिक्रिया जनाइन । हामी मरियो भने यहीँ पहिरोमा मरिने भैयो, बाँचियो भने घर पुगिएला भन्नेमा पुग्यौं । र अघि जोखिम मोलेर आएको पहिरोको बाटो हुँदै छोयाङ फर्किने निर्णय भयो । लक सरले भन्नूभयो इन्स्योरेन्स गर्नुभाको छ ? मैले सिधा जवाफ फर्काए, छैन । यतिबेला ८ः३० बजिसकेको थियो । पारी इसुवा इनर्जी कम्पनीको आवास क्षेत्र सुनसान थियो । सायद पहिरो खस्ने डरले त्यहाँ बस्नेहरु निस्किसकेका थिए । फर्किने त भइयो । तर यतिखेरसम्म हामी भोकले सिकिस्त भैसकेका थियौं । करिब ८ बजे आम्राङ आइपुग्ने र खाना खान नुम पुग्ने योजनाले खानेकुरा केही बोकिएन । यसले पनि एउटा पाठ सिकायो हामीलाई कुन बेला के समस्या आउँछ टुंगो हुदैन । यात्रामा आवश्यक खानेकुरा बोक्नुपर्छ ।
जीवन या मृत्युको दोसाँधमा हामी फर्कियौ । पहिरोबाट जोगिदै उकालो । खुट्टा कामेर पाइला सरिन्न । उसै त भोकले लर्खराउदा । केही माथि आएपछि लक सरले झोला खोतल्नु भयो र ह्याप्पिडेन्ट निकाल्नुभयो । हामी खाँदबारीबाट बाटो लागेको दिन भ्याङखोलामा किनेका थियौं । २-२ वटा पुग्नेगरी उब्रिएको रहेछ । चपाउनु अघि मैले ठट्टा गरे, पेट पनि अचम्म मान्छ रे, मुखले यति धेरै चपाईरहेको छ, किन भित्र चाहिँ पठाउदैन ? बरु भोक थपिन्छ रे । हामी भोको पेटमा हाँस्यौ र ह्याप्पिडेन्टको तागत पहिरोले तान्न लागेको सिढिहरुमा खर्चियौ ।
हामी पहिरोको उच्च जोखिममा नै छौँ । केही माथि आएपछि चुच्चे आँप टिपेर खाँयौं । ढुङगा खाउकी माटो खाउ भएको हामीलाई अब आउने ठूलो पहिरो सजिलै काट्ने दुस्साहस दियो । धेरै खाँदा कलिलो आँपले असर गर्ने डर । नखाउ पहिरोबाट बाँचे पनि भोकले मर्ने डर ।
निकैबेर हिडेपछि अन्तिम पटक संघर्ष गर्नुपर्ने ठूलो पहिरो पुगियो । यो पहिरो पार गरे बाँचिन्छ भन्ने आशा छ । पहिरोमा ज्यानलाई जोखिममा पारेर पार लाईयो । अब चाहिँ बाँच्छु जस्तो लाग्यो । अत्यन्त भोक र तिर्खाएका हामीले यो पहिरो कटेर छोयाङतर्फ तेर्सै जाउ जसरी भएनी सोलाखानी जाने ठाडो बाटो भेटिएलानी भन्ने भयो र तेसै गरियो । तर बाटो नभएको ठाउँमा बर्खमा हौसिएर आएका झार पन्छाउन नसक्ने भयौं । भोकले थलिन लागेको हामीलाई धागोको तगारो जस्तै भैसकेको थियो । फेरि फर्कियौ र पुरानै बाटो उक्लियौ । यतिबेला सयौं जुकाले हाम्रा शरिरमा खुन चुसिसकेको थियो ।
डाडा गाउँ जाने सडक भेटेपछि पसलको खोजीमा लागियो । केही पर पुगेपछि एक जना चिने जस्तै लाग्ने मान्छे हामी तिरै आउदै हुनुहुन्थ्यो । नभन्दै बुद्धि मेवाहाङ हुनुहुदो रहेछ । गतवर्ष यता घुम्न आउँदा वहाँकै घरमा बाँस बसेका थियौं । वहाँलाई भेटेपछि हामी भोकले मरिदैन भन्ने लाग्यो । किनकी गाउँमा यतिबेला मान्छे भेट्न मुस्किल छ । हामीले हाम्रो सबिस्तार लायौ । वहाको घरमा किराना पसल छ भन्ने थाहा छ । चाउ चाउ बनाउन लाउला र खाँउला भन्ने थियो । तर सबै काममा गएकाले सोचे जस्तो भएन । वहाँले नै माथिल्लो घरमा जाउ भन्नूभयो र त्यतै लाग्यौं । बुद्धि दाइ नभएको भए यहाँ पनि हामी भोकै पर्ने थियौं । वहाँले घरको मान्छे बोलाएर ल्याउनुभयो । त्यहाँ चाउ–चाउ बनाउन लगायौं र धित मरुन्जेल चिउरासँग खायौं । नुम पुग्ने योजनाले त्यहाँबाट अरुणको ओराली झ-र्यौ ।
अरुण पुल तरेर सोलाखानीको उकालो गर्मीमा । सडक प्रयोग गरेर अब हामी आम्राङ तिर हानियौ । बाटो भरी पहिरो नै पहिरो छ । केही ठाउँमा निक्कै असहज पनि थियो । जति अघि बढ्यो उति ठूलो पहिरो र जोखिम पनि । हामी दुई आज आम्राङ पुगिन्छ के ? भन्दै तेर्सी रह्यौ । सुके खोल्सा आएपछि तर्न सक्ने स्थिति देखिएन । लौरो बनाएर म अघि तरे । लक सर पनि तर्नुभयो । यहाँ कहिँकतै खुट्टा खुस्किए अरुण मै पुगिन्छ । जसोतसो यो संकट झेलियो ।
तारको भरमा खोला तर्दा
क्रमशः यात्रा अघि बढ्यो । जब अरुण तेस्रोको आम्राङ सुरुङ छेउ (अडिट–२) आयौ, तब हाम्रो यात्रा टुंगिएको अनुमान भयो । हामीले बाटो प्रयोग गरिरहेको सडक तुङ खोलाले बगाएछ । हामी पुल बगाए जस्तै गरेर फेरि फस्यौ । बिहान देखि संघर्षरत हाम्रो यात्रा फेरि सोलाखानी फर्कन सक्ने हुत्ती थिएन । किनकी छोयाङमा खाएको चाउ–चाउ र चिउराले साथ छोडिसकेको थियो । तुङ खोला पार गर्ने कि सोलाखानी फर्किने दोधारे मनमा जीवनले साथ छोडिसकेको थियो ।
फेरि सम्झिए, यो संकट पूरा गरे, सामान्य कालले हामीलाई लानै सक्तैन । लक सरले भन्नूभयो, अब हामी साँच्चै अभर पर्यौ । मलाई लाग्यो, आज हाम्रो कालयात्रा भइरहेछ । पटक-पटक जीवन मृत्युको परिक्षा भइरहेको छ । पाइला-पाइलामा कालयात्रा चलिरहेछ ।
सडक बगाएपछि खोला नजिक पुग्न कठिन छ । त्यहाँ पुगि हाले तुङ खोला उर्लिएको छ । फेरी अरुण हुँदै हामीलाई गंगासम्म जलयात्रा गराउने छ, तुङ खोलाले ।

लक सरले सडकबाट तल झर्ने र खोला जसरी नि तर्नुपर्छ भन्नू त भयो तर तल झर्न सजिलो थिएन । नयाँ पहिरोको माटोमा नङ गाडेर वहाँ तल झर्नु भो । करिब २० फुट । ज्यान जोखिममा राखेर । वहाँ तल पुगेपछि मलाई नि पुरुषार्थ देखाउनुपर्यो । नत्र एक्लै सोलाखानी फर्किनुको विकल्प थिएन । अब लक सर जस्तै गरि ओर्लने भैयो । मेरो मुटु फुत्किएर बाहिर निस्किएला जस्तो भयो । मुटु बढेर फोक्सो भन्दा ठूलो भए जस्तो लाग्यो । जे होस्, सकुशल ओर्लिए पुगिएला भन्ने लाग्यो र जेनतेन ओर्लिए । ओर्लन त ओर्लियौ तर खोला के गरि तर्ने ? खोला तर्न नसके अघि ओर्लिएको पहिरो उक्लन सक्ने थिएनौं । हाम्रो जीवनको यात्रा साँघुरिदै थियो । हामी भए ठाउँमा छाँगाबाट झरेको पानीको बाफ र बाछिटाले निथ्रुक्क पारीसकेको थियो । पारी कम्पनीमा काम गर्ने साथीहरूलाई डोरी लौरो ल्याउन संकेत ग-र्यौ । पानी बाक्लो गरि परे खोला बढ्ने डर कम थिएन । निकै बेरमा ३ भाइ डोरी र लामो रड लिएर आए । यतिन्जेल लक सरले बिना सहारा दुई पटक खोला तर्ने प्रयास गरिसक्नुभएको थियो । मैले नै अनुरोध गरे, केही छिन् पर्खौ । एकै छिनको हतारले जीवन समाप्त हुन्छ । म खोला खेल्ने मान्छे । वहाँ पौडी नै नजान्ने मलाई थाहा थियो । तर म भन्दा आँटिलो बनेर खोला तर्ने प्रयास हेर्दा मान्छे बाँच्नको लागि मर्न नडराउने रहेछ । डोरीको सहायताले हामी तुङ्खोला तर्यौ । जुन अन्तिम मृत्यु परिक्षा थियो । खोला तर्न सहयोग गर्ने तीन जना मित्रलाई हार्दिकताले धन्यवाद दियौं । उनीहरु नभएको भए हामी के गथ्यौ र के हुन्थ्यो टुङ्गो भएन ।
सुरुङ अघि सडकबाट तेर्सिदा लक सरले भन्नूभयो, यसरी खोला नतरेको धेरै भएको थियो । अब बाँचिन्छ भन्ने पूर्ण आश भयो र आम्राङ हुँदै गुरुङ गाउँबाट साँझ १२ घण्टाको यात्रापछि नुम आएर टुङ्यायौ । अब मकालु ६ का स्थानीयहरु गाउँपालिकाको केन्द्र नुम आउन पाउने छैन । नुम आएपछि वडाध्यक्ष, गाउँपालिकालाई सूचना गर्ने मन थियो । तर हामीसँग विकल्पहरु थिएन । आजसम्ममा यो बाटोमा हामी जस्तै धेरै जनाले सास्ती पाए होलान् । तीन विकल्पको बाटोहरु, छोयाङ–आप्सुवा पुल–अरुण नदि आम्राङ हुँदै नुम । छोयाङ हुँदै अरुण नदि तरेर सोलाखानी–आम्राङबाट उकालै–उकालो नुम र सोलाखानीबाट उकालै–उकालो सुकेखोला र तुङखोला तरेर गुरुङ गाउँ हुँदै नुम । यो रुट अहिले पूर्ण रुपमा बन्द छ ।
छोयाङबासी अब नुम आउन २ दिन लाग्नेछ । वर्खायाममा योजना फरफारक गर्न आउन उनीहरुलाई मुस्किल छ । तत्काल बाटो मर्मत गर्न पनि निरन्तर पानी परिरहेकाले सम्भव छैन । मकालु क्षेत्रमा एक साता देखि नियमित विजुली छैन । ईन्टरनेटको के कुरा, मोबाइलमा नेटवर्क छैन । अब मकालु गाउँपालिकाले के गरि उपभोक्ता र निर्माण व्यवसायीलाई केन्द्रसम्म ल्याउला र भुक्तानी देला ? विद्युुत ब्याकअप नहुदाँ असार मसान्तमा क्लोजिङ गर्न सक्ला त मकालुले ?
जीवनकै सबैभन्दा कठिन यात्रामा मकालुबासीको समस्या कम देखिएन । अहिले पनि निरन्तर पानी रोकिएको छैन ।
सोमबार, असार ३, २०८१