काठमाडौं । कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघ पार्टीको भ्रातृ संस्थाबाट अलग्गिएको छ । काठमाडौंमा सम्पन्न नेविसंघको सिनेट बैठकले पार्टीको भ्रातृ संस्थाबाट अलग्गिएर संघलाई विद्यार्थीको हितग्राही संस्थाका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
सिनेट बैठकले नेपाली कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था रहे पनि पार्टीको प्रत्यक्ष प्रभाव र प्रणालीभित्र नरहने कार्यगत स्वायत्ततासम्बन्धी प्रस्ताव पास गरेको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले सिनेट बैठकले विद्यार्थी आन्दोलनलाई सुधार गर्दै कार्यप्रणालीलाई स्वायत्त बनाउने निर्णय लिएको बताए ।
‘बदलिँदो समयअनुसार विद्यार्थी आन्दोलनमा सुधारको आवश्यकता थियो, त्यसलाई आत्मसात् गर्दै सिनेट बैठकले कार्यप्रणालीलाई स्वायत्त बनाउने निर्णय गरिएको हो,’ शेर्पाको भनाइ छ । यद्यपि, पार्टीको नीतिलाई सैद्धान्तिक समर्थन भने जारी रहने उनले बताए ।