संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–११ स्थित बेतधारा टोल विकास संस्थाले फागुपूर्णिमाको अवसरमा आयोजना गरेको खुल्ला वडास्तरीय भलिवल प्रतियोगिताको उपाधी सभापोखरी गाउँपालिका–३ ले जितेको छ ।
विहीबार भएको फाइनल खेलमा भोजपुरको षडानन्द नगरपालिका–५ लाई सोझो सेटमा हराउर्दै सभापोखरी गाउँपालिका–३ ले उपाधी हात पारेको हो । सभापोखरी–३ ले २५–१८, २७–२५ र २५–१८ को सेटमा षडानन्द–५ लाई हराएको थियो । षडानन्द–३ उपविजेतामा नै चित्त बुझाउन बाध्य भए ।
त्यसैगरि तेस्रो स्थानका लागि पाँचखपन नगरपालिका–३ र सिलीचोङ गाउँपालिका–१ बीच प्रतिस्पर्धा भएको थियो । पाँचखपन–३ ले २५–८, २५–२३ र २५–२१ को सोझो सेटमा सिलीचोङ–१ लाई हराउर्दै तेस्रो बने । सिलीचोङ–१ सान्त्वनामा नै चित्त बुझाउन बाध्य भए । उक्त प्रतियोगितामा संखुवासभा र भोजपुरका १२ वटा वडाले सहभागीता जनाएका थिए ।

‘स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सोमबार देखि शुरु भएको प्रतियोगिता आज विहीबार समापन भएको हो । प्रतियोगिताका विजेतालाई नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र एक कार्यक्रम बीच खाँदबारी–११ का वडाध्यक्ष अनिल राईले वितरण गरे । त्यसैगरि उपविजेताले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे भने तेस्रोले नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरि सान्त्वनाले नगद ५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।
उक्त प्रतियोगिता फागु पूर्णिमाको अवसरमा बर्सेनि गर्ने गरेको बेतधारा टोल विकास संस्थाका अध्यक्ष गोपाल राईले बताए । यो बर्ष तेस्रो बर्षको रुपमा प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष राईको भनाइ छ ।
समापन कार्यक्रममा वडाध्यक्ष अनिल राई प्रमुख अतिथी रहेका थिए भने खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य दिपेन्द्र राई, वडा सदस्य पृथीमान राई, लिला घले लगायतका गाउँका भद्रभलादमी र समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

भलिवल समापन पछि खुल्ला नृत्य प्रतियोगिताको आयोजना सहित साँगितिक कार्यक्रम गरिएको थियो । खुल्ला नृत्य प्रतियोगितामा खाँदबारी–३ मानेभञ्जाङ्ग (ख) टोली प्रथम भएको थियो । उनीहरुले करुवा नृत्य प्रदर्शन गरेका थिए । त्यसैगरि खाँदबारी–११ कात्तिके गाउँका शुभकलाको टोली द्धितिय भएको थियो भने चिचिला गाउँपालिका–५ देविटारका टोली तृतीय बनेका थिए ।
नृत्यमा प्रथमलाई नगद ५ हजार र प्रमाणपत्र, द्धितिय नगद ३ हजार र प्रमाणपत्र र तृतीयले नगद २ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।
