संखुवासभा । जिल्लाको चैनपुर नगरपालिकामा अनियमितता, बेतिथी र भष्ट्राचार भएको भन्दै नागरिक समाजले छानविनको माग गरेको छ ।
आज (बुधबार) चैनपुर नगरपालिका पुगेका नागरिक समाज र चैनपुर नगरपालिका बीच शान्तिपूर्ण वातावरणमा छलफल गरिएको थियो । इलाका प्रशासन कार्यालय चैनपुरका प्रमुख दिनेश बस्नेतको संयोजकत्वमा सशस्त्र प्रहरी अरुण गुल्मका गुल्मपति, इलाका प्रहरी कार्यालयका प्रमुख, नागरिक समाज, चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ र प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने लगायतको उपस्थितीमा शान्तिपूर्ण रुपमा छलफल भएको हो । उक्त छलफल पछि इलाका प्रशासन कार्यालय चैनपुरका प्रमुख दिनेश बस्नेतले प्रतिवेदन पेश गर्ने र सो प्रतिवेदनको आधारमा नगरभित्रका अनियमितता, बेतिथि र भष्ट्राचारका विषयमा कारबाही प्रक्रिया अगाडी बढ्ने सहमति गरिएको नागरिक समाजका प्रतिनिधी होमनाथ सापकोटाले बताए । उनले जिल्ला प्रशासन कार्यालयमा बुझाएको निवेदन उपर छलफल, अनुसन्धान गरि कारबाही प्रक्रिया बढाउनु पर्ने माग गरे ।
गत ०८३ असार १७ गते चैनपुर नगरपालिकामा अनियमितता, बेतिथी र भष्ट्राचार बढेको भन्र्दै नागरिक समाजले १४ बुदें निवेदन प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई बुझाएका थिए । सो निवेदन बमोजिम नै प्रजिअ अर्यालले इलाका प्रशासन कार्यालय चैनपुरका प्रमुख बस्नेतलाई छलफल गरि प्रतिवेदन बुझाउन अनुरोध गरेको बताइएको छ ।
उक्त नागरिक समाजको टोलीले बुधबार चैनपुर नगरपालिकामा तालाबन्दी र घेराउ गर्न पुगेका थिए तर उनीहरुलाई शान्तिपूर्ण र सौहार्द तरिकाबाट छलफल गरौं भन्ने नगर प्रमुख कृष्णकुमार तामाङले प्रस्ताव गरेपछि छलफलमा बसेको नागरिक समाजको भनाइ छ । सुमन डाँगी र होमनाथ सापकोटा लगायतका करिब ३५/४० जना युवा तथा नागरिक समाजका ब्यक्तित्वहरुले दिउँसो करिब साढे १२ बजेतिर चैनपुर नगरपालिकाका पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा बुझाएको निवेदन नागरिक समाजले विशेष गरि उखु पेल्ने मेशिन खरिद गर्दा १ लाख ६५ हजार पर्ने मेशिनलाई २ लाख ८३ हजार रुपैयामा खरिद गरेको, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानले कानुन विपरित ५० प्रतिशत प्रोत्साहन भत्ता लिने गरेको, मिलेमतोमा राज्यकोष दोहन गरेको, ठाडो आदेशमा जागिर खुवाएको, गैरकानुनी रुपमा इन्धन गाडीको खर्च गरेको, कानुन विपरित आवास सुविधा लिने गरेको र बर्षको ३६५ दिनमा ३३६ दिनमा २४ लाख ४ हजार ५७२ रुपैया अनियमित ढंगले खर्च गरेको लगायतका १४ वटा बुदाँमा आरोप सहितका निवेदन पेश गरेका छन्।
यस बिषयमा प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानले कानुन सम्मत काम गरेको बताउर्दै कानुन बाहिर गएर गरेको भए कारबाही भोग्न तयार रहेको बताए । उनले चैनपुर नगरपालिकामा आफु भन्दा अगाडीका प्रमुख प्रशासकीय अधिकृतहरुले ५० प्रतिशत प्रोत्साहन भत्ता खाईरहेको र आफु आएपछि खाएको बताए ।
जिल्लाका अन्य स्थानीय तहहरुमा समेत प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुले प्रोत्साहन भत्ता खाने गरेको न्यौपानेको भनाइ छ ।


