संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा जलविद्युत् आयोजनासम्बन्धी छलफलका क्रममा समाचार संकलनमा पुगेका पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले आपत्ति जनाएको छ।
नेपाल पत्रकार महासंघ संखुवासभाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ असोज ३ गते शनिबार जिल्ला प्रशासन कार्यालय संखुवासभाको समन्वयमा सिलिचोङ गाउँपालिकामा सञ्चालनमा रहेका संखुवा तल्लो, संखुवा माथिल्लो तथा निर्माणाधीन सिसुवाखोला जलविद्युत् आयोजनासँग सम्बन्धित विषयमा छलफल भइरहेको थियो। सो क्रममा समाचार संकलनमा पुगेका नेपाल पत्रकार महासंघ संखुवासभाका सदस्य तथा नागरिक चासो डटकमका कार्यकारी सम्पादक खेवाहाङ मेवाहाङलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको महासंघले जनाएको छ।
महासंघले पत्रकारले आफ्नो व्यावसायिक जिम्मेवारीअनुसार सार्वजनिक सरोकारका विषयमा समाचार संकलन तथा फोटो–भिडियो गर्न पाउनुपर्ने भन्दै रोक लगाउने कार्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको जनाएको छ।
महासंघले सार्वजनिक जनसरोकारका विषयमा उठेका प्रश्नबारे रिपोर्टिङका लागि खटिएका सञ्चारकर्मीलाई कडा शब्द प्रयोग गर्दै भिडियो खिच्न रोक लगाउनु प्रमुख जिल्ला अधिकारीको पदकीय मर्यादाविपरीतको गतिविधि भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।