संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–७ स्थितमा रहेको इलाका प्रहरी कार्यालय वानाको नवनिर्मित भवनको समुदघाटन भएको छ ।
विहिबार आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले शिलालेख अनावरण गर्दै नवनिर्मित ७ कोठे भवनको समुदघाटन गरेका हुन् । उनले भवनको समुदघाटन तथा निरीक्षण गर्दै नयाँ भवन उपलब्ध भएसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै सुबिधा सम्पन्न भवनले प्रहरीमा थप जोश र उर्जा बढेर जाने बताए ।
‘सुविधा सम्पन्न र सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा म बिश्वस्त छु । आमनागरिकहरुलाई प्रदान गरिने प्रहरी सेवा समेत स्तरिय हुनेछ । यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई कानूनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न समेत निर्देशन दिन चाहान्छु ।’– खापुङले भने ।
कार्यक्रमका प्रमुख अतिथि खापुङले इलाका प्रहरी कार्यालय वानाको नव निर्मित भवनको लागी जग्गा खरिद गरिदिने पाँचखपन नगरपालिका, प्रहरी चौकी वाना स्थापना हुँदा निःशुल्क जग्गा प्रदान गर्ने स्व.ललित बहादुर दर्जीको छोरा झलक दर्जी तथा भवन निर्माण कम्पनी कार्की बन्धु÷अमर जेभिलाई कदरपत्रले सम्मान गरेका थिए ।
उक्त भवन नेपाल सरकारको बिनियोजित बजेट २ करोड ४३ लाख ३१ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।
उक्त उदघाटन कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, पाँचखपन नगरपालिकाका नगर प्रमुख बिपिन राई, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयहरूका प्रमुख एवंम प्रतिनिधि, बिभिन्न संघ संस्था तथा राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी लगायत स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।