संखुवासभा । नेपाल प्रेस युनियन जिल्ला कार्य समितिले आफ्नो ३३ औँ स्थापना दिवस भब्य रुपमा मनाएको छ ।
पत्रकार महासंघ संखुवासभाको कार्यालयमा अन्तरक्रिया तथा चियापान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । प्रेस युनियन संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस संखुवासभाका कार्यबाहक सभापति अनन्तकुमार गौली प्रमुख अतिथि रहेका थिए । त्यस्तै नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमिति सदस्य राजेन्द्र घले, खाँदबारी नगरपालिकाका नगर प्रमुख तथा नेपाली काँग्रेसका नेता महेश थपलिया, नेपाली काँग्रेस संखुवासभाका सचिव टकमान घले लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरी, प्रेस चौतारी संखुवासभाका अध्यक्ष प्रेमप्रसाद निरौला, प्रेस सेन्टर अध्यक्ष अनिश विष्ट, प्रेस युनियन संखुवासभाका पूर्वअध्यक्ष कृष्णराज शाक्य, प्रेस युनियन कोशी प्रदेश समितिका सदस्य मेघराज तामाङ लगायतले आफ्नो विचार राख्दै शुभकामना ब्यक्त गरेका थिए । पछिल्लो समयमा सञ्चार माध्ययम र पत्रकारहरुलाई हरेक कोणबाट आक्रमण भईरहेकोले त्यस्को विरुद्ध लाग्न सवै पत्रकारहरु एक जुट हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेताहरुले अहिलेको परिवर्तन ल्याउनमा पत्रकारहरुको भुमिकाको चर्चा गरेका थिए । सत्यतथ्य समाचार सम्प्रषण गर्दा–गर्दै कसैले अवरोध गर्न खोजे नेपाली काँग्रेसले त्यसको सधै प्रतिवाद गर्ने नेताहरुले बताएका छन् । पछिल्लो समय सञ्चार माध्यमलाई सरकारले गरिरहेको हमलाको पनि काँग्रेसले प्रतिवाद गरिरहेको बताएका छन् ।
युनियनका अध्यक्ष दिपेन्द्र शाक्यले जिल्लाको ४ पत्रकारहरुको नाम केन्द्रले हटाउने खबर प्राप्त भएको भन्दै विरोध जनाए । स्थायी रुपमा कुनै पनि सरकारी सेवामा नरहेका पत्रकारहरुको नाम हटाए त्यस विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए । कार्यक्रममा बोल्दै उनले कतिपय कुराहरुमा जिल्लाको पत्रकारहरुको एकताको कमीका कारण विभिन्न समस्याहरु भोग्नु परेको बताउ । जिल्लाका पत्रकारहरु एकजुट भए जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा उपाध्यक्ष नवीन गुरुङले स्वागत मन्तब्य राखेका थिए भने सचिव ध्यान कुलुङले कार्यक्रम संचालन गरेका थिए ।
भिडियो लिंक पनि खोलेर हेर्नुहोस्.....