संखुवासभा । अमर स्रष्टा खेमराज गुरुङको स्मृतिमा २०७३ सालमा स्थापना गरिएको खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ कलासाधक क्षेत्रबहादुर गुरुङलाई प्रदान गरेको छ भने नवप्रतिभा सम्मान विपीन किरणलाई प्रदान गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रशासकीय अदालतको अध्यक्ष तथा पूर्वनायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरे प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा माइती नेपालका संस्थापक अनुराधा कोइराला र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
वरिष्ठ कलासाधक गुरुङ वि.सं.२००७ सालमा तत्कालीन स्याङ्जाको मट्टिखान, धुवाँरकोट हाल पोखरा महानगरपालिका–२१, कास्कीमा जन्मिएका हुन् । उनले कलासाधक गुरुङले लोक गीत/संगीत र लोक संस्कृतिमा अतुलनीय योगदान पुर्याउनु भएको छ । ‘कलिलो तामालाई’, ‘१६ वर्षे उमेरैमा’, ‘झण्डै मैले सिन्दूर घसेको’ उहाँद्वारा गाइएका, संकलन गरिएका केही चर्चित लोकगीतहरू हुन् ।
गुरुङलाई ट्रष्टले ५० हजार रुपैयाँको राशीसहित सम्मान–पत्र प्रदान गरेको छ । यसअघि यस्तो सम्मान वरिष्ठ गीतकार रत्नसम्शेर थापा (२०७४), वरिष्ठ संगीतकार प्रकाश गुरुङ (२०७५), वरिष्ठ जनपक्षीय गायक रामेश (२०७६), वरिष्ठ गायक दीप श्रेष्ठ (२०७९), भजन शिरोमणि वरिष्ठ गायक भक्तराज आचार्य (२०८०) र संगीतकार शिलाबहादुर मोक्तान (२०८१)लाई प्रदान गरिएको थियो ।

यसैगरी ट्रष्टले प्रतिभा पुरस्कार प्रसिद्ध गीतकार विपिन किरणलाई प्रदान गरेको छ । उहाँले ‘नबिर्सेँ तिमीलाई’, ‘बल गरेर त्यो मन,’ ‘टुट्यो तारा आकाशमा’लगायत दर्जनौँ लोकप्रिय गीत रचना गरेर नेपाली सुगम गीत/संगीतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिनुभएको छ । प्रतिभा पुरस्कारको राशी भने २० हजार रुपैयाँ रहेको छ । यसअघि यस्तो पुरस्कार मेलिना राई (२०७४), ओमप्रकाश राई (२०७५), सुसन लामा (२०७६), भविन ढुंगाना (२०७९), तुलसी बस्नेत (२०८०), टीका चाम्लिङ (२०८१)लाई प्रदान गरिएको थियो ।
२०७७ र २०७८ सालको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने कोभिड–१९ महामारीका कारण स्थगित गरिएको र अन्य समयमा निरन्तर वितरण गरिरहेको खेमराज ट्रष्टका महासचिव दिपेन्द्र बान्तवाले जानकारी दिए ।
खेमराज गुरुङ ट्रष्ट नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्नेलगायतका उद्देश्य राखेर २०७३ सालमा स्थापना गरिएको हो ।
‘वारि जमुना, पारि जमुना’, ‘आलु तामाले’, ‘धरान बजार’लगायत दर्जनौँ लोकप्रिय गीतका सर्जक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो ।