संखुवासभा । नेपाली कांग्रेसका नेता तथा जिल्ला समन्वय समिति (जिसस) संखुुवासभाका सदस्य देउमान राईको निधन भएको छ ।
आइतबार दिउँसो नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) का क्षेत्रिय सभापति तथा जिल्ला समन्वस समिति संखुवासभाका सदस्य राईको असामयिक निधन भएको हो । मकालु गाउँपालिका –३ हेदाङना स्थायी घर भएका ५० बर्षीय राई घर नजिकैको पानीधारामा मृत भेटिएका थिए ।
मृत अवस्थामा भेटिएका राईको शव जिल्ला अस्पताल खाँदबारीमा फोष्टमार्टम पछि सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाको पार्टी कार्यालय खाँदबारीस्थित चाँदनीचौकमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । पार्टी कार्यालयमा राखिएको राईको पार्थिव शरीरमा कांग्रेस नेता, कार्यकर्ता र शुभचिन्तकहरुले माल्यार्पण गरेका थिए । त्यसपछि मकालु गाउँपालिकाको कार्यालय नुममा पनि राईको शव राखेर श्रद्धाञ्जली सभा गरिएको थियो । मृतक राईको आजै अरुण नदीमा जातिय परम्परा अनुसार अन्त्यष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
मकालु गाउँपालिकाद्धारा शोक विदा
देउमान राईको निधनमा मकालु गाउँपालिकाले सोमबार एक दिन सार्वजनिक विदा दिएको छ । मकालु गाउँपालिका ३ नम्बर वडा सदस्य समेत रहेका राईको निधन प्रति गहिरो दुःख ब्यक्त गर्दै गाउँपालिकाले सार्वजनिक विदा दिएको हो ।
राईको निधन प्रति विभिन्न ब्यक्तिद्धारा गहिरो दुःख ब्यक्त
नेपाली कांग्रेसका क्षेत्रिय सभापति रहेका देउमान राईको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गर्दै दुःख ब्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छ, नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको राईको निधनले सिंगो कांग्रेस स्तब्ध भएको छ ।
त्यसैगरि राईको निधनप्रति कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुःख व्यक्त गरेका छन् । कार्यवाहक सभापति खड्काले राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट समवेदना व्यक्त गरे ।
नेपाली कांग्रेस संखुवासभाका नेताद्धय पूर्वमन्त्रीहरु तारामान गुरुङ र दिपक खड्काले कांग्रेसले जुझारु नेता गुमाउनु परेको भन्र्दै दुःख ब्यक्त गरेका छन् ।
त्यसैगरि जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले जिसस सदस्य राईको अकल्पनीय निधनको खबरले आफू र सिंगो जिसस परिवार नै स्तब्ध बनेको भन्र्दै सामाजिक संजालमा पोष्ट गरेका छन् ।
मृतक राईको निधनले सामाजिक संजालका वालहरु रंगिएका छन् । अधिकाँसले भद्र, प्रिय, सहनशील, समाजसेवी र बौद्धिक ब्यक्तित्व गुमाउनु परेको भन्र्दै दुःख ब्यक्त गरेका छन् ।
को हुन त राई :
मकालु गाउँपालिका–३ हेदाङना स्थायी घर भएका देउमान राई राजनीतिका साथै बौद्धिक ब्यक्ति समेत हुन् । उनी सोही गाउँका हिमालय माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक समेत हुन् । राई केहीसमय देखि राई प्रेस र सुगरको रोगी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
राईको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ ।



