- नवीन गुरुङ/बाह्रबिसे
संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसेमा रहेको सभाखोला लघु जलविद्युत्त परियोजना बिक्री भएपछि लगानी फिर्ता गरिएको छ ।
सभापोखरी–६ बाह्रबिसेमा रहेको ४० किलोवाट क्षमताको सभाखोला लघु जलविद्युत्त परियोजना अर्विट इनर्जी प्रालि (सि) हाडीगाउँ काठमाडौंले खरिद गरेपछि स्थानीयको शेयर र सेवाग्राही वापत बुझाएको रकम एक कार्यक्रमको आयोजना गरि शनिबार फिर्ता गरिएको हो । उक्त शेयरधनी र सेवाग्राहीलाई शेयर रकम फिर्ता कार्यक्रममा सभापोखरी लघु जलविद्युत्त परियोजनाको बारेमा सभाखोला लघु जलविद्युत्त कार्य समुहका अध्यक्ष तथा सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले जानकारी दिएका थिए भने संस्थाका सचिव कैलाश कालाखेतीले प्रतिवेदन प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा संस्थाका सहसचिव कृष्णबहादुर राईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा सभापोखरी गाउँपालिका कार्यपालिका सदस्य हेमराज राई, पूर्व जनप्रतिनिधी लालबहादुर श्रेष्ठ, त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद बाह्रबोटी, संस्थाका शेयरधनी र सेवाग्राहीहरुको उपस्थिती रहेको थियो ।
अर्विट इनर्जी प्रालि (सि) हाडीगाउँ काठमाडौंले सभाखोला जल विद्युत्त उत्पादन गरिरहेको ठाउँको लाइसेन्स लिई नेपाल सरकारबाट अनुमति प्राप्त गरेपछि स्थानीयको लगानी फिर्ता नगरि उत्पादन गर्न नदिने स्थानीयको चेतावनी पछि दुई करोड रुपैयामा सहमती भएको सभाखोला लघु जलविद्युत्त कार्य समुहका अध्यक्ष तथा सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले बताए । उनले आधिकारिक रुपमा अब सभाखोला लघु जलवद्यिुत्त अर्विट इनर्जीलाई बेचीसकेको बताउर्दै हाम्रो संस्था दुई करोड रुपैया समेत जम्मा भईसकेको बताए ।
संस्था बेचीसकेको भएपनि अब एक डेढ महिना सोही बत्ती बाल्न दिने सहमती भएको अध्यक्ष लिम्बूको भनाइ छ । पहिले बाह्रबिसे सम्म केन्द्रीय प्रशारण लाइन नजोडिदा समस्या थियो, अहिले केन्द्रीय प्रशारण लाइन जोडिएकाले पनि सजिलो भएको अध्यक्ष लिम्बूको भनाइ छ ।
‘हामीले संचालन गरिरहेको लघु जलविद्युत्तको मुहान पनि हाम्रो नाममा आधिकारिक रजिष्टे«सन पास नभई नेपाल सरकारको नाममा नै रहेको, लघु जलविद्युत्त संचालन गर्दा मर्मत खर्च बढि र केन्द्रीय प्रशारण लाइन भन्दा महङगो पनि पर्ने भयो । सबैको साझा सहमती पछि बेच्ने निर्णयमा पुगेको हो ।’—अध्यक्ष लिम्बूले भने–‘हामीले पटक–पटक अर्विट इनर्जी कम्पनीसँग छलफल ग-यौं, अन्तिम सहमती दुई करोड रुपैया दिने भयो, संस्थापक शेयरधनी २ सय ७५ जनालाई प्रति शेयर ७० हजार ५ सय रुपैया र पछि थपिएका ८६ घरधुरीलाई ३ हजार रुपैयाका दरले वितरण गरिएको हो ।’
संस्थाले स्थानीय सरकार सभापोखरी गाउँपालिकालाई स्थानीय राजश्व वापत ७ लाख ५० हजार रुपैया बुझाएको अध्यक्ष लिम्बूको भनाइ छ ।
बाह्रबिसे बजार नजिकैबाट बग्ने सभाखोलाबाट स्थानीयले २०६५ सालमा लघु जलविद्युत्त उत्पादन गरि बत्ती बालीरहेका थिए । अध्यरोबाट मुक्त भई उज्यालोमा बस्न स्थानीयको लगानी र नवीकरणीय ऊर्जाको सहयोगमा विद्युत्त उत्पादन गरि संचालनमा रहेको थियो । तत्कालीन समयमा बाह्रबिसे बजार अन्धकार भएपछि बत्ती बाल्ने जोश जाँगरले लघु जलविद्युत्त उत्पादन गरि बत्ती बाल्ने कार्यमा जुटेको संस्थाको सचिव कैलाश कालाखेतीले बताए ।
उनले नेपाल सरकारको नवीकरणीय ऊर्जाबाट ३८ लाख ५० हजार अनुदान, तत्कालीन जिल्ला विकास समिति र सभापोखरी गाविसबाट ५/५ प्रतिशत अनुदान सहयोग, स्थानीय २ सय ५० जनाबाट ३÷३ हजार रुपैया धरौटी रकम र ५०/५० दिन जनश्रमदान गरि विद्युत्त उत्पादन गरि बाल्न शुरु गरिएको बताए । ‘लघु जलविद्युत्त विभिन्न समयमा मर्मत खर्च धान्न गाह्रो भएपछि २५ जनालाई शेयर बेचेर संस्थापक शेयरदाता २ सय ७५ जना भयो । पछि बसाईसराई गरेर बजार क्षेत्रमा घरहरु बढेपछि प्रतिघर ३ हजार रुपैया लिएर ८६ जनालाई सेवाग्राही वितरण गरियो । हाल संस्थामा ३ सय ६१ जना शेयरधनी र सेवाग्राही हुनुहुन्छ ।’
सभाखोला लघु जलविद्युत्त परियोजना सम्पन्न हुदाँ कुल एक करोड २० लाख रुपैयाका लागत खर्च भएको संस्थाले जनाएको छ ।
संस्थापक शेयरधनी २ सय ७५ जनालाई संस्थाका अध्यक्ष भीमबहादुर लिम्बू, सचिव कैलाश कालाखेतीले चेक हस्तान्तरण गरेका थिए भने ८६ जना सेवाग्राहीहरुलाई ३ हजार रुपैया नगदै प्रदान गरिएको थियो । संस्थामा आवद्ध रहेका ४ जना कर्मचारीहरुलाई १५/१५ हजार रुपैया बोनस सहित बिदाई गरिएको जनाएको छ । उक्त लघु जलविद्युत्तमा आवद्ध शेयरधनी र सेवाग्राहीहरु गाउँ–गाउँबाट बाह्रबिसे बजारमा भेला भएका थिए ।