संखुवासभा । विश्वभर फैलिएको कोरोना भाइरसको कारण बन्द भएको संखुवासभाको उत्तरीक्षेत्र चीनसँग सिमाना जोडिएको किमाथांका नाका पाँचबर्ष पछि खुलेको छ ।
शनिबार एक कार्यक्रम बीच नेपालको तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तर्फबाट तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा नेपाल र चीन बीचका बन्द रहेका १४ वटा नाका औपचारिक रुपमा खुलेको घोषणा गरिएको हो । उक्त नाका खुला गर्ने कार्यक्रम चीनको तिब्बती चिन्ताङ्ग टाउनमा आयोजना गरिएको थियो । सो कार्यक्रममा नेपालको तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, प्रभावित क्षेत्र भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटे, परराष्ट्र र गृह मन्त्रालयका उच्च पदाधिकारी र सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता रहेको थियो ।
काठमाडौं देखि हेलिकप्टरमा आएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ संखुवासभाको तुम्लिङटार विमानस्थलमा अवतरण गरि चीनको सिमावर्ती किमाथांका नाका खुलाउने कार्यक्रममा सहभागी भई तुम्लिङटारमा नै फर्किएर पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए ।
नाकाहरु खुला गरिएसँगै नेपाल र चीन बीच पारस्परिक सम्बन्ध बिस्तारका साथै महत्वपूर्ण समझदारी समेत भएको मन्त्री श्रेष्ठको भनाइ छ ।
कोरोना संक्रमणका कारण चीन सरकारले २०७६ माघ ५ देखि बन्द गरेको किमाथांका नाका पाँच बर्षपछि खुलेपछि भोटखोलाबासी खुशी भएका छन् । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले नाका खुले आफना नागरिकहरुलाई राहत मिलेको प्रतिकृया दिए । उनले विभिन्न तहमा पटक–पटक आग्रह र चौतर्फी पहल पछि नाका खुला भएपछि भोटखोलाबासीमा खुशीयाली छाएको बताए ।
महङगो मूल्यमा सदरमुकाम खाँदबारीबाट दैनिक उपभोग्य बस्तु देखि खाद्यान्न, लत्ताकपडा लगायत आपूर्ति गर्दा भोटखोलाका बासिन्दाहरु मारमा पर्ने गरेकोमा अब हटेको उनको भनाइ छ ।