मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |
मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

बरुण नदी
संखुवासभाको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको बरुण, विकासको पर्खाइमा-अस्तित्व भने खतरामा, जलमाफियाको गिद्धे नजर

Sankhuwasabhapress 612+ समाचार ( )
८ माघ २०८०, सोमबार
  • नवीन गुरुङ 

संखुवासभा (स्थलगत रिर्पोटिङ बरुण)। पूर्वी पहाडी जिल्ला संखुवासभाको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको क्षेत्र हो—बरुण नदी । 

विगतमा झै यसबर्ष पनि बरुण मेला सम्पन्न भएको छ । सदरमुकाम खाँदबारीबाट ८० किमि उत्तरमा पर्ने बरुण मेला जोगमुनी—किमाथांका नाका जोड्ने कोशील्हासा राजमार्गमा पर्दछ । भोटखोला गाउँपालिका–४ मा रहेको ऐतिहासिक धार्मिक तथा साँस्कृतिक महत्व बोकेको बरुण नदीमा बर्सेनि माघेसंक्रान्तिको अवसरमा माघ १ गते बरुण मेला लाग्ने गर्दछ । प्रायः जसो पुस मसान्तको दिन देखि ३ दिन सम्म मेला लाग्ने गर्दछन् । तीर्थालु भक्तजनहरु पुस मसान्तको दिन बरुण पुग्ने, बेलुकी स्नान गरी बौद्ध गुम्बा तथा हिन्दुको बरुणेश्वर मन्दिरमा पूजापाठ गर्ने र विहानै बरुण नदीमा स्नान गरि पूजापाठ गरि भगवानसँग वरदान माग्ने चलन छ । उक्त मेला भर्न संखुवासभा र आसपास जिल्लाका हजारौ तीर्थालु भक्तजनहरु बरुण मेलामा पुग्ने गर्दछन् । 

बरुणमा बरुणश्वेर महादेवको एउटा बेग्लै र मौलिक पहिचान बोकेको अलौकिक शक्ति भएको भनेर पुज्ने गरिन्छ । यो क्षेत्र हिन्दु र बौद्धको आस्थाको केन्द्रका साथै अरुण र बरुण नदीको संगमस्थल समेत हो । यहाँ बरुणश्वेर महादेवको मन्दिर स्थापना गरिएको छ भने बौद्धमार्गीहरुको बौद्ध गुम्बा समेत दुई वटा रहेको छ । ऐतिहासिक महत्वको मौलिक वरुण नदी सबैभन्दा स्वच्छ र सफा नदी हो । दुधपोखरी यसको शिर हो । ढुङ्गाको चेपबाट आफै पानी नदी बनेर बगेको छ । यसको आफनै महिमा भएको भक्तजनहरु बताउँछन् । गौमुख गङ्गाको शिर वरूण नदी नै भएका कारण ८४ हजार पितृको उद्दारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थान वरुण नदी भएको समेत वेद पुराणमा पनि उल्लेख गरिएको छ । त्यसैगरि बरुणमा देवताहरूको बास भएकै आधारमा तिनका शिरमा शिव पार्वती, शिवधारा, दुध पोखरी, बरुण पोखरी, बरुणेश्वर महादेव लगायतको सिर्जना भएको कथन छ । सत्य मात्र बोल्न जान्ने राजा हरिशचन्द्रको कथामा बरुणसँग छोरो बर मागेको र उनको भाग्यमा नभएको पुत्रसमेत दिन बरुणजी आफू तयार रहेको तर भाग्यमै नभएको हुनाले पछि उनै बरुणले फिर्ता लिन चाहेर लगेको कुरासमेत धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ । 

त्यसैगरी, भोटे सम्प्रदायमा बरुण ठेनेम्बा र हटिया ठेनेम्बा भनेर चिचिने दुईवटा छाँगाहरू पनि सोही नदीमा रहेका छन् । यो नदीलाई पत्थर चिरेको नदी भनेर समेत चिनिन्छ । सौर्यमण्डलको ग्रहहरूमा बरुण ग्रहसमेत भएको हुँदा यस नदीको उत्पत्तिमा ब्रह्माण्डको समेत सम्बन्ध रहेको देखिएको बताइन्छ । नदीको पानीको रङसमेत अन्य नदीको भन्दा फरक अर्थात नीलो रङको रहेको छ । अरुण र बरुण नदीलाई मामा र भाञ्जाको समेत संज्ञा दिएको पाइन्छ ।

मकर अर्थात बरुण नुहाउन हजारौं तीर्थालु भक्तजनहरु आउने गरेको बरुणेश्वर मन्दिरका पुजारी यज्ञबहादुर कार्कीले बताए । उनले बरुण नदिमा स्नान गरे धन, सन्तान र रोगब्याधीबाट मुक्त हुन माग्ने र मागेको पुग्ने गरेको बरुणेश्वर मन्दिरका पुजारी कार्कीले बताए । 

मकर नुहाउन माघेसंक्रान्तिको समयमा धेरै टाढा-टाढाबाट भक्तजनहरु आउने गरेपनि अन्य समयमा समेत तीर्थालु भक्तजनहरु पूजापाठका लागि मन्दिरमा आउने गरेको पुजारी कार्कीको भनाइ छ। 

बरुण मेला धार्मिक तथा साँस्कृतिक महत्वका साथै मानिसहरुको भेटघाट गर्ने थलो समेत बनेको छ । मेला भर्न भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दा बीचमा भेटघाट गर्ने मुख्य थलोको रूपमा लिइने गरेको छ । सो मेला र वरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले उत्तिकै महत्वका साथ हेर्ने गर्दछन । ठूलो श्रद्धाका साथ संखुवासभाका साथै छिमेकी जिल्लाहरु टाढा–टाढाबाट समेत धेरै तीर्थालु भक्तजनहरु आउने गरेको पाइन्छ । 

विकासको पखाईमा—बरुण

संखुवासभाको महत्वपूर्ण धार्मिकस्थल मध्ये बरुण पनि एक हो । यस्तो ऐतिहासिक महत्व बोकेको धार्मिक तीर्थस्थलको कसैले पनि जीर्णाद्धार गर्न चासो दिएको देखिएको छैन् । विभिन्न कारणले होला बरुणले मुहार फेर्न पाएको छैन् । लामो समयदेखि विकासको पर्खाइमा बसेपनि कसैको नजर पुग्न सकेको छैन् । 

स्थानीय सरकार समेत रहेको भोटखोला गाउँपालिकाले समेत ऐतिहासिक बरुण नदी र यस क्षेत्रको संरक्षण गर्न अघि बढेको देखिदैन् । लामो समयदेखि जीर्ण अवस्थामा रहेको मन्दिर र बौद्ध गुम्बाको अवस्था फेरिएको छैन् । त्यहाँका भौतिक संरचनाहरु जस्ताका तस्तै छन् । बरुणमा केही होटल र घरहरु भने विगतका तुलनामा थपिएका छन् । माघेसंक्रान्तिको समयमा यतिठूलो बरुण मेला लाग्दा समेत स्थानीय सरकार, ४ नम्बर वडा कार्यालय र स्थानीय क्लब तथा समितिहरुले बजार ब्यबस्थापनमा सक्रिय रुपमा जुटेको देखिएन । बर्सेनि बरुण मेला भर्न करिब १० देखि १५ हजार भन्दा बढि तीर्थयात्रीहरुको आवातजावात हुने गर्दछ । बरुणमा बस्ने ठाउँ नपाएका मानिसहरु करिब ३० मिनेटको दुरीमा रहेको गोलाबजारमा बास बसि माघ १ गते विहानै मकर नुहाउन बरुण नदीमा पुग्ने गर्दछन् । आममानिसहरुले श्रद्धा र सम्मान गर्ने वरुणको भौतिक विकासमा भने कसैको नजर अहिले सम्म पुगेको छैन् । सामान्य सार्वजनिक शौचालय निर्माण र सानो कार्यक्रम संचालन गर्ने स्टेज छ तर त्यसको ब्यबस्थापनमा कसैले चासो देखाएको छैन् । 


स्थानीय बजार ब्यबस्थापन समिति रहेपनि प्रभावकारी रुपमा काम नगरेको पाइएको भोटखोला गाउँपालिका कार्यपालिका सदस्य जयबाबु भोटेले स्वीकारे । रातभर बजार ब्यबस्थापनमा नै लागेका भोटेले टाढा–टाढाबाट आएका भक्तजन र ब्यापार ब्यावसाय पसल गर्ने मानिसहरुलाई ब्यबस्थापन गर्न नसकेको बताए । 

स्थानीय बजार ब्यबस्थापन समितिले ब्यापारीहरुलाई पसलको आकार र प्रकार हेरि ५ सय देखि १ हजार रुपैया बढि रुपैया सम्म कर संकलन गरेका थिए । खाँदबारीबाट गएको स्थानीय ब्यापारी ओङबु शेर्पाले सामान्य रुपमा सुन्तला बेच्न नलगेका थिए । तर उनले ब्यापार गरेवापत ५ सय रुपैया कर तिर्नुपरेको बताए । 

जलमाफियाको गिद्धे नजरका कारण बरुणको अतित्व खतरामा

पूरापूर्वकाल देखि श्रद्धापूर्वक मान्ने गरेको बरुण नदीको अस्तित्व गुम्ने खतरा बढेको छ । परापूर्वकाल देखि हालसम्म अलौकिक शक्तिको रुपमा पुजिदैं आएको बरुण नदीको संरक्षण संवद्र्धन हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको हो । बरुणको ‘भर्निनिटी’ तोड्न जलमाफियाहरु लागि परेका छन् । राष्ट्रिय गौरवको आयोजना जोगमुनी–किमाथांका सडकको निर्माण र बरुण नदीमा जलमाफिया हाइड्रोपावार बनाउनेको गिद्धे नजरका कारण बरुण नदीको अस्तित्व खतरामा परेको हो ।

बरुण नदीको पुल मुनी नजिकैबाट खाँदबारी–किमाथांका सडक जोड्नका लागि पक्की पुल निर्माण कार्य भईरहेको छ । सडक निर्माण गरेर फालिएका ढुंगा र बालुवाले बरुण नदीको पुल मुनीको भाग भरिएको छ । भक्तजनहरूले पूजा गर्ने पोखरीमा नै डोजर लगाइएको छ । यसरी पौराणिक महत्व बोकेको नदीको अहिले संरक्षण नहुँदा भोली आहालमा परिणत हुने सम्भावना रहेको स्थानीयहरु गुनासो गर्छन् । नदीको संरक्षण गरी धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके स्थानीयको राम्रो आयस्रोत बन्न सक्ने बरुण नदीको अस्तित्व नै दिनानुदिन खतरामा पर्दै गएको छ । 

केहीबर्ष अघि बरुण नदीको शिरमा रहेको लाङमाले ताल फुटेर बाढी आएपछि बरुण नदीको आकारमा परिवर्तन भएको थियो । ताल फुटेर बाढी आउनु, सडक निर्माण र हाइड्रोपावार बनाउन केही मानिसहरु लागि परेकाले बरुणको भविष्य संकटमा पर्दै गएको होकी भन्ने अनुमान गर्न सकिन्छ। 

एमपीक इनर्जी प्रालि नामक संस्थाले बरुण नदीमा विद्युत उत्पादन गर्न अघि बढिरहेको छ । बरुण नदीमा भोटखोला गाउँपालिकाले कुनै पनि हालतमा हाइड्रोपावार बनाउन नदिने भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताए । उनले बरुण जस्तो पवित्र ऐतिहासिक धार्मिक तथा साँस्कृतिक महत्व बोकेको सम्पदाको रुपमा रहेको बरुण नदीमा आममानिसहरुको जनभावना र मर्मलाई लत्याएर विद्युत्त उत्पादन गर्न नदिने स्पष्ट पारे ।

भोटखोला गाउँपालिकाको १३ औं कार्यपालिका बैठकले बरुण नदीमा कुनै पनि हालतमा विद्युत्त उत्पादन गर्न नदिने निर्णय गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन ऐन विपरीत संखुवासभा जिल्लाको पवित्र ऐतिहासिक धार्मिक सम्पदा समेत रहेको बरुण खोलामा विद्युत उत्पादन अनुमति दिएको भन्दै भोटखोला गाउँपालिकाले आपत्ति जनाएको छ । गाउँपालिकाले वन मन्त्रालय र ऊर्जा मन्त्रालयमा ध्यानाकर्षण पत्र र निवेदन पेश गरेको जनाएको छ । 

एमपीक इनर्जी प्रालिले बरुण नदीबाट बिजुली उत्पादन गर्न तल्लो बरुण खोलाबाट १ सय ३२ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न लागिपरेको छ । त्यसको लागि वातावरणीय प्रभाव मूल्याङकन गर्न निर्माण कम्पनी एमपिक इनर्जी प्रालिको आयोजनामा गत मंसिर २२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेपनि स्थानीयले कार्यक्रम नै गर्न दिएनन् । बरुण नदीमा हाइड्रोपावार बनाउन नहुने भन्र्दै भोटखोला गाउँपालिका, भोटे जनजाति सेवा संघ र भोटखोला स्पोर्टिङ क्लबले अलग–अलग प्रेस विज्ञप्ति जारी विद्युत् उत्पादनको विरोध गरेका छन् । स्थानीयले बरुण बचाऊ संघर्ष समिति समेत गठन गरेर त्यसको विरोधमा उत्रिएका छन् । 

बरुणको विकासको आवश्यकता : यति गरे परिवर्तन संम्भव 

बरुणको विकास गर्न सबैभन्दा पहिले स्थानीय सरकार भोटखोला गाउँपालिका, ४ नम्बर वडा कार्यालय र स्थानीयहरु एकजुट भई बरुण भोटखोला गाउँपालिकाको पहिलो परिचय हो भन्ने अनूभत गर्न आवश्यक छ । भोटखोला गाउँपालिका भन्ने वित्तिकै सबैभन्दा पहिले गाउँपालिकालाई बरुण नदीको नामले चिनिन्छ । 

धार्मिक तथा साँस्कृतिक महत्व रहेको बरुण नदीमा हाइड्रोपावार निर्माण गर्न दिनुहुदैन् । यसका लागि अहिले लागे झै निरन्तर रुपमा एकजुट भई लाग्नुपर्छ । यदि हाइड्रोपावार बन्यो भने बरुणकाे महिमा समाप्त हुन्छ । अहिले जुन श्रद्धा र सम्मानका साथ टाढा–टाढाबाट आउने तीर्थालु भक्तजनहरु शुन्य हुनेछ । यसतर्फ सबै सचेत हुनपर्छ । त्यसका साथै स्थानीय बरुण ब्यबस्थापन समिति मार्फत त्यहाँका धार्मिक क्षेत्र तथा साँस्कृतिक क्षेत्र र पूर्वाधार विकास गरिनुपर्छ । स्थानीयलाई जिम्मेवार बनाउनुपर्छ । जग्गा किनबेच गरि नयाँ–नयाँ मानिसहरुलाई होटल ब्याबसाय तथा होमस्टे प्रवद्र्धन गर्न सकिन्छ । हिन्दु र बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र रहेको बरुणेश्वर मन्दिर र बौद्ध गुम्बाहरुको भौतिक विकास गर्नुपर्छ । त्यहाँ अलपत्र रहेका संरचनाहरुको जीर्णाद्धार गरिनुपर्छ । यात्रु तथा तीर्थालु भक्तजनहरु बस्ने पाटी, चौतारा बनाइनुपर्छ । बरुणको नाम लेखेर ठूलो बोर्ड राख्न सकिन्छ । कृत्रिम रुपमा आकर्षक बनाउनुपर्छ । पाटी, चौतरा निर्माणका साथै सार्वजनिक शौचालय, बरुण बजार लाग्ने निश्चित क्षेत्र तोकी बजार लगाउनुपर्छ । बरुणको महिमा बारेमा स्थानीय देखि राष्ट्रिय स्तरका विभिन्न संचारमाध्यम लगायत विभिन्न कोणबाट ब्यापक रुपमा प्रचारप्रसार गर्नुपर्छ । सडकको स्तरोन्नती देखि बजार क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाउनुपर्छ । बर्सेनि बरुण मेलाको अवसरमा विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रमका साथै साँगितिक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्छ । यसरी सामान्य ढंगले काम गर्दै अगाडी बढे बरुणको सर्वाङ्गीर्ण विकास हुन सक्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार