संखुवासभा (ताम्कु) । संखुवासभाको सिलीचोङ गाउँपालिकाले यातायातसम्बन्धी समस्या समाधान गर्न कार्यदल गठन गरेको छ ।
आज आइतबार बसेको सरोकारवालाहरुको भेलाबाट कार्यदल गठन गरिएको हो । सवारी भाडादर धेरै भएको जनगुनासोका आधारमा गाउँपालिकाले अन्तरकृया कार्यक्रम आयोजना गरेको थियो । मालवहाक तथा यात्रुवहाक सवारी साधनको भाडादर कायम गर्न संयोगान्त कुलुङको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलले उपयुक्त भाडाका बिषयमा १५ दिनभित्रमा प्रतिवेदन गाउँपालिकामा बुझाउने जिम्मेवारी पाएको छ ।
समितिमा जितेन राई, कृष्ण कार्की, खेमराज मेवाहाङ, उमेश चाम्लिङ, अरुण संगम कुलुङ, देवीकुमारी राई र खेवाहाङ मेवाहाङ सदस्य रहनेगरी कार्यदल गठन भएको हो । कार्यदलको सदस्यसचिव रमेश चाम्लिङ रहेका छन ।
गएको विहिबार मानेभञ्ज्याङ–हेलुवाबेंशी सडकखण्डको भाडादर धेरै भएको भन्दै स्थानीयहरुले संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई ध्यानकर्षणपत्र बुझाएको थियो । मानेभञ्ज्याङ–हेलुवाबेंशी २१ किमि सडकको भाडादर ५ सय रुपैया धेरै भएको भन्र्दै ३५० रुपैया हुनपर्ने स्थानीयको माग छ ।