संखुवासभा । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)ले वर्तमान अवस्थामा चुनौतीको बिषय बनेको जलवायु परिवर्तन नीतिबारे स्थानीय सरकारसँग छलफल गरेको छ ।
महिला महासंघले केहीदिन अघि जिल्लाको दक्षिणी भेगका धर्मदेवी नगरपालिका र उत्तरी भेगका भोटखोला गाउँपालिकाका स्थानीय सरकारसँग नीतिगत ब्यबस्थाका बारेमा छलफल गरेको हो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को धर्मदेवीमा रहेको याख्या जाति र भोटखोलाका भोटे जातिलाई उत्थान गर्नका लागि लक्षित कार्यक्रम अन्तर्गत जलवायु परिवर्तन र कृषि अनकुलन सम्बन्धी तालिम समेत दिइर्दै आएको छ ।
आदिवासी जनजाति समुदायले जलवायु परिवर्तनको समस्या भोग्नु परिरहेको र त्यसका बारेमा स्थानीय सरकारको नीति कस्तो छ भनेर छलफल गरेको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका केन्द्रीय महासचिव शोभा सुनुवारले बताईन् । उनले पछिल्लो समय जलवायु परिवर्तनको असर सबैभन्दा बढि आदिवासी जनजाति समुदायलाई परेको बताईन् ।
जलवायु परिवर्तन बारेमा स्थानीय सरकारले नीतिगत ब्यबस्था गर्दा आदिवासी जनजाति लक्षित होस् भनेर झकझकाउने काम गरेको र स्थानीय सरकारले आगामी बजेटमा प्राथमिकता दिई कार्यक्रम राख्ने आश्वासन पाएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)का महासचिव सुनुवारको भनाइ छ ।
भोटखोला र धर्मदेवीका स्थानीय महिलाहरुलाई सशक्त बनाउन र जलवायु परिवर्तनका बारेमा जानकारी दिन महिला महासंघले समय–समयमा तालिम र सचेतना कार्यक्रमहरु संचालन गर्दै आएको छ । ति दुवै पालिकाका स्थानीय पिछडीएका महिलाहरुलाई लक्षित गरि जलवायु परिवर्तन र कृषि अनकुलन सम्बन्धी तालिम दिएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)का सहजकर्ता पेमा वाङबु लामाले बताईन् ।
उनले संखुवासभाको भोटखोला र धर्मदेवी नगरपालिकामा संचालनमा रहेको कार्यक्रमको अनुगमन, वडा र पालिका सरकारसँग संवाद कार्यक्रमको लागि संखुवासभा आएको बताईन् । उनको अनुसार, भोटखोला–२ लिगांममा २२ जना र धर्मदेवी–२ तामाफोकमा २५ जना महिला दिदिबहिनीहरुको समुह बनाई जलवायु परिवर्तन र कृषि अनकुलन सम्बन्धी कार्यक्रम संचालनमा रहेको छ । दुवै ठाउँका महिला समुहलाई राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले ३५÷३५ हजार रुपैया विउँ पुजी समेत उपलब्ध गराएको छ । सो रकमबाट दुवै समुहले भाडा जग्गा लिएर कृषि क्षेत्रमा लगानी गरेको छ । भोटखोलाले आलु रोपेको छ भने धर्मदेवीले भटामास खेती लगाएको छ ।
यो बर्षको अन्तराष्ट्रिय नारी दिवश समेत राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अगुवाईमा ति समुहरुले सोही ठाउँमा मनाइएका थिए । पछिल्लो समय महिला दिदिबहिनीहरु आफ्नो कुराहरु सशक्त ढंगले राख्न सक्ने भएको पाएको महिला महासंघको भनाइ छ ।