संखुवासभा । संखुवासभाका अग्रज पत्रकार गंगा बिष्टले खाँदबारीमा जात्रा महोत्सवमा फोटो प्रर्दशनी गरेका छन् । साउन २५ र २६ गते खाँदबारीमा आयोजित दुई दिने जात्रा महोत्सवमा पत्रकार विष्टले फोटो प्रर्दशनी गरेका हुन् ।
लामो समय देखि पत्रकारिता क्षेत्रमा आवद्ध रहेको अग्रज पत्रकार विष्टले खाँदबारी युथ क्लबद्धारा आयोजित जात्रा महोत्सवमा फोटो प्रर्दशनी गरेका हुन् । संखुवासभाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र झल्किने फोटोहरु प्रर्दशनीमा राखिएको थियो । जिल्लाका पुराना ग्रामीण जनजीवन झल्किने खालका सामाजिक र आर्थिक अवस्थाको चित्रण गरेका फोटोहरु प्रर्दशनीमा राखिएको र जिल्लाका पुरानो तथा नयाँ फोटोहरु संकलन गरेर प्रर्दशनीमा राख्दा धेरै पटक बर्ष अगाडीको बारेमा झलक दिने भएकाले महत्वपूर्ण हुने विष्टले बताए ।
उक्त फोटो प्रर्दशनीमा अहिलेको वर्तमान खाँदबारी बजारको मुटु क्षेत्र पोखरी बजार कस्तो थियो भनेर पुरानो फोटो हेर्न सकिन्छ । त्यसका साथै संखुवासभामा हेलिकप्टरमा बोकाएर गाडी झारेको दृश्य हेर्न सकिन्छ भने संखुवासभा धार्मिक तथा साँस्कृतिक महत्व बोकेका तीर्थस्थल, पर्यटकीय क्षेत्र, भेषभूषा र जातीय परम्पराहरु फोटोमा कैद गरिएको छ ।
कार्यक्रममा फोटो प्रर्दशनी हेर्ने दर्शकहरुको समेत भीड लागेको थियो । उनीहरु धेरै बर्ष अगाडीको संखुवासभाका विभिन्न गतिविधीहरु तस्बिरमा हेर्न पाएकोमा खुशी ब्यक्त गरे ।
उक्त जात्रा महोत्सवमा साँगितिकि कार्यक्रमका साथै विभिन्न औद्योगिक प्रदर्शनीका साथै गुरुङ, राई, नेवार लगायत अन्य विभिन्न जातजातिहरुको साँस्कृतिक पहिचान झल्किने स्टल, खाना प्रदर्शनी र ब्याबसायिक स्टलहरु समेत राखिएको थियो ।
खाँदबारी युथ क्लबका अध्यक्ष सुरेन शाक्यले जात्रा महोत्सवलाई आममानिसहरुले माया, सदभाव र स्नेहका साथै कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरेको छ, त्यसलाई समेत सहयोग पुगेको बताए । ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले जात्रा पर्व हो,त्यसैलाई बहृत बनाउन जात्रा महोत्सवको आयोजना गरिएको अध्यक्ष शाक्यको भनाइ छ।
जात्राको साथै जातीय तथा मौलिक परिकारहरूको स्टल र खाद्य प्रदर्शनीले पर्यटक र स्थानीय दुवैको आकर्षण बढाएको छ ।