सुदुरपूर्वी हिमाली तथा पहाडी जिल्ला हो—संखुवासभा । भौगोलिक हिसाबले निकै दुरदराजमा रहेको संखुवासभा जिल्ला आर्थिक रुपमा समृद्ध जिल्ला हो । संघीय राजधानी काठमाडौंबाट निकै विकट र दुरदराजमा रहेको हिमाली जिल्ला हो—संखुवासभा ।
सुगम शहरमा बस्नेहरुको लागि संखुवासभा निकै विकट लाग्छ । जिल्ला सदरमुकाम सम्म मात्रै कालोपत्रेले छोएको संखुवासभाको ग्रामीण भूभागका सडकहरु बर्खाको समयमा बेहालत अवस्थामा छ । सडक पूर्वाधारले भने गाउँ–गाउँ सम्म जोडिएको छ । संचारको हिसाबले चीनसँगको सिमावर्ती किमाथांका सम्म संचार सुविधा जोडिएको छ । गाउँ–गाउँ सम्म नेपाल टेलिकमको फोरजी र टुजी इन्टरनेट सेवा जोडिएको छ भने निजी प्रदायक इन्टरनेट कम्पनीका इन्टरनेट सुविधाहरु जोडिएको छ ।
संखुवासभामा नगदेबालीहरु अलैंची र रुद्राक्षको कारोबार निकै राम्रो हुने भएकाले कतिपयको समृद्धिको स्तर यसैले बढाएको छ । त्यसका साथ–साथै ठूला नौ सय मेगावाटका अरुण तेस्रो जलविद्युत्त परियोजना देखि अन्य थुप्रै हाइड्रोपरियोजनाहरु सर्भे र अध्ययनका चरणमा रहेकाले गतिविधीहरु बाक्लो हुने गर्दछ ।
हिमाली जिल्ला संखुवासभामा सुचना र संचारको पहँुच समेत राम्रै छ । यो जिल्लामा हालसम्म आठ वटा एफ.एम. रेडियो संचालनमा रहेको छ भने ४ वटा साप्ताहिक पत्रिकाहरु संचालनमा रहेका छन् । अनलाईन पोर्टलहरु पनि आधा दर्जन भन्दा बढि संचालनमा रहेको छ । जिल्लामा ब्याबसायिक ढंगले निकै वटा संचारमाध्यमहरु चलेका छन् । जिल्लामा क्रियाशिल पत्रकारहरुको संख्या पनि राम्रै छ । केन्द्रका ठूला मिडिया हाउसहरु टेलिभिजन, दैनिक पत्रिका, रेडियो र अनलाइन लगायत संचारमाध्यमहरुमा आवद्ध छन् । जिल्लाका साना–साना घटना र बिषयबस्तुहरु केन्द्रीय संचारमाध्यमहरु निकै छिटो ढंगले कभरेज भईरहेको पाइन्छ ।
यसै पत्रपत्रिका र संचारमाध्यमहरुको भीडमा एउटा छट्टै नाम हो—‘संखुवासभा एक्सप्रेस’ । यो पत्रिका वि.सं.२०७६ सालमा दर्ता भई संचालनमा आएको हो । यस संस्थाले आफ्नो बार्षिक जन्मदिन हरेक बर्षको असोज १ गते मनाउने गरेको छ । यस संखुवासभा एक्सप्रेस पत्रिका साप्ताहिक रुपमा हरेक विहिबार सदरमुकाम खाँदबारीबाट प्रकाशन हुदैं आईरहेको छ । सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन् । विश्वभर फैलिएको कोभिड–१९ जस्ता महामारीमा घरैमा बसेर अहोरात्र सुचना सम्प्रेषण गर्ने कार्यमा अब्बल रुपमा लागि रह्यो । त्यसैगरि जिल्लामा आईपर्ने विपद्का घटनाहरु लगायत नयाँ र नौलो ताजा समाचार र खबर दिने कुरामा अग्रणी भूमिका निर्वाह गरिरहेको थियो, छ र गर्नेछ । पत्रिका प्रकाशन गरि वितरण गर्दा अझ सुचना ढिलो अथवा बासी होला की भनेर पत्रिकाको अनलाइन संस्करण www.sankhuwasabhapress.com को माध्यमबाट समेत छिटो छरितो ढंगबाट सुचनाहरु प्रवाह गर्ने काम भईरहेको छ ।
अन्त्यमा, हामीले आफ्नो धर्म र कर्म दुवै निर्वाह गरिरहेका छौं । निष्पक्ष पत्रकारिता हाम्रो प्रयास हो । हालसम्म पत्रिका संचालन गर्नेक्रममा रचनात्मक सल्लाह सुझाव दिई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने महानुभाव, पाठकवर्ग र विज्ञापनदाताहरु सबैलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्तै साथ सहयोगको अपेक्षा गर्दछौं ।
हार्दिक शुभकामना ।