- नविनकला जैरु
संखुवासभा (मकालु ) । संखुवासभाको मकालु गाउँपालिकामा युवा क्लब गठन तथा नमुना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
मकालु गाउँपालिका उपाध्यक्ष मनकला राईको अध्यक्षता र राष्ट्रिय युवा परिषद जिल्ला अध्यक्ष पासाङनिमा शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटन तथा समापन कार्यक्रममा मकालु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर दर्जी तथा राजैनतिक दलका प्रतिनिधिहरुले उद्घाटन सत्रमा शुभकामना मन्तब्य राखेका थिए भने समापन कार्यक्रममा धन्यबाद दिर्दै तालिम प्रभावकारी रहेको बताएका थिए । राजैनतिक दलका प्रतिनिधिहरुले समापन कार्यक्रममा बोल्दै नमुना संसद अभ्यास कार्यक्रमको नमुना अभ्यास (डेमो) हेरी सकेपछि गाउँसभाको हलमा आफु छु भन्ने अनुभुति भएको धारणा राखेका थिए ।
मकालु गाउँपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषदको समन्वयमा नमुना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको हो । माघ १६ देखि सुरु भएको ४ दिवशीय तालिम १९ गते सम्पन्न भएको हो । तालिममा पालिकाका १६ देखि २४ बर्ष उमेर समूहका युवाहरुको सहभागिता रहेको थियो ।
प्रत्येक वडाबाट २ पुरुष र २ महिला गरि ४ जना भएतापनि मकालु–५ बाट धेरै जनाको सहभागिता रहेको थियो । तालिममा जम्मा ३७ जना सहभागी भएका थिए । तालिमको सहजीकरण राष्ट्रिय युवा परिषदका केन्द्रिय प्रशिक्षक सन्ध्या लिङथेप र राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष पासाङनिमा शेर्पाले गरेका थिए ।
सो अवसरमा युवाहरुले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय सरकार सञ्चालनको अभ्यास गराइएको प्रशिक्षक लिङथेपले जानकारी दिइन् । तालिम मकालु गाउँपालिकाको सभाहलमा सञ्चालन भएको हो ।
तालिम समापन पछि भोलीपल्ट मकालु गाउँपालिकाकै आयोजनामा युवाहरुलाई युवामैत्री स्थानीय शासनका लागि युवाको मुद्धामा बहस पैरवी कार्यक्रम पनि सञ्चालन भएको थियो । युवाको मुद्धामा बहस पैरवी कार्यक्रममा जम्मा १ सय १४ जनाको उपस्थिती रहेको गाउँपालिका शिक्षा शाखा संयोजक पुष्पबहादुर तामाङले जानकारी दिए ।