संखुवासभा । संखुवासभाका गरिब, असहाय र अभिभावकविहिन विद्यार्थीहरुको पठनपाठनको सहयोगको लागि संखुवासभा सम्पर्क परिवार दक्षिणकोरियाले ‘छुसुक डान्स धमका’ को आयोजना गर्ने भएको छ ।
यहि सेप्टेम्बर २९ तारिखको दिन दक्षिणकोरियामा डान्स पार्टीको आयोजना गरिएको संखुवासभा सम्पर्क परिवार दक्षिणकोरियाका अध्यक्ष बमबहादुर घलेले जानकारी दिए । उनले यो डान्स पार्टी मनोरन्जनका साथै मानवीय हिसाबले केन्द्रीय रहेर आयोजना गरिएको हो । ‘हाम्रो संस्थामा अहिले १० लाख रुपैयाको कोष छ । सो कोषको ब्याजबाट जिल्लाभित्रका २० जना असहाय, गरिब र अभिभावकविहिन विद्यार्थीहरुलाई पठनपाठनको लागि सहयोग गर्न तत्कालै छात्रबृत्ति वितरण गर्न नामलिष्ट फाइनल भईसकेको छ भने कोषमा रकम थप गर्नका लागि डान्स पार्टीको आयोजना गरिएको हो । सम्पूर्ण खर्च कटाएर जम्मा भएको रकम कोषमा जम्मा गर्ने लक्ष्य छ ।’—अध्यक्ष घलेले भने ।
आर्थिक बर्ष २०८० को लागि छात्रबृत्तिमा जिल्ला भित्रका २० जना विद्यार्थीहरु छनौट गरिएको अध्यक्ष घलेले बताए । उनको अनुसार, धर्मदेवी–१ का मिलन तामाङ र निरज पौडेल, चिचिला–२ का दिब्य श्रेष्ठ र सोभियन राई, चैनपुर–९ का अनिषा राई र सोनी तामाङ, पाँचखपन–४ का भेषराज कार्की, मादी–६ का सोम तोलाङ्गी र अस्मिता सार्की, मादी–५ का अनु तामाङ र लाक्पा गोले, मादी–४ का अस्मिता तामाङ, मादी–९ का पूर्णबहादुर तामाङ, भोटखोला–२ का रितमान राई, सिलिचोङ–२ का डिप्लव कुलुङ, सिलिचोङ–३ का पवित्रा कुलुङ र रञ्जना कुलुङ, सिलिचोङ–२ का रेखा कुलुङ र दिलिप कुलुङ, सिलिचोङ–४ का प्रज्वल राई रहेका छन् । उनीहरुलाई जनही ५ हजार रुपैयाको दरले छात्रबृत्ति वितरण गरिनेछ । रकम सानो भएपनि पठनपाठन केही सहयोग पुगोस् भन्ने उद्धेश्यले छात्रबृत्ति वितरण कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष घलेको भनाइ छ ।
उक्त डान्स पार्टीमा चर्चित डिजे सुशान्त लगायतको उपस्थिती रहनेछ । कार्यक्रमको ब्यबस्थापन केटिएम टु सोलले गरेको हो । कार्यक्रम बेलुकी ८ बजेदेखि भोलीपल्ट विहान ६ बजेसम्म चल्नेछ ।
सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागी हार्दिक अनुरोध गरिएको आयोजकले जनाए । कार्यक्रम हामी सबैको भएकाले सबैजनाको सहयोग र हातेमालोबाट सभ्य ढंगले सुसम्पन्न गर्न र भब्य रुपमा मनाउन सबै एकजुट हुन, उपस्थित भईदिनु हुन आग्रह गरिएको अध्यक्ष घलेको भनाइ छ ।