संखुवासभा । संखुवासभामा गायन क्षेत्रको प्रतिभावान नयाँ गायक गायिकाको खोजी गर्ने उद्धेश्यले ‘संखुवासभा आइडल’ हुने भएको छ ।
सदरमुकाम खाँदबारीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि तेस्रो संस्करण अन्तर्गत ‘संखुवासभा आइडल’ यहि भदौ १६ गतेबाट शुरु हुन लागेको जानकारी दिइएको हो । जिल्लामा १० बर्षपछि तेस्रो सिजनको गायन प्रतिभावान कलाकारको खोजी गर्ने उद्धेश्यले प्रतियोगिता शुरु हुने लागेको अरुण भ्याली ईभेन्ट मेनेजमेन्ट प्रालिका अध्यक्ष देवेन्द्र घिमिरेले जानकारी दिए ।
कला र संगितको माध्यमबाट संखुवासभा जिल्लालाई विश्वभर चिनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका लगानीकर्ता तथा परिकल्पनाकार सुजनकुमार श्रेष्ठले बताए । उनले नयाँ प्रतिभाहरुको खोजी मात्र नभएर आन्तरिक पर्यटकहरुलाई समेत संखुवासभामा भित्राउने उद्देश्य रहेको बताए ।
प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट १०० प्रतिष्पर्धीहरु छनौट गरिने प्रतियोगिताको संयोजक बीरबहादुर लिम्बुले जानकारी दिए । त्यसपश्चात उत्कृष्ट ५०, ३०, २०, १५, १२, ५ र ३ जनाको दरले छनौट हुँदै आउने संयोजक लिम्बुको भनाइ छ ।
प्रतियोगिताका विजेताले उपाधिसँगै नगद ३ लाख रुपैयाँ, एउटा गीत रेकर्ड, पाँच दिने भारत भ्रमणको अवसर प्राप्त गर्नेछन् । उपविजेता दुई जनाले नगद ५०/५० हजार, एउटा गीत रेकर्ड, पाँच दिने भारत भ्रमण र टोकन अफ लव प्राप्त गर्नेछन् । त्यस बाहेकका उत्कृष्ट पाँच भित्र परेका (विजेता र उपविजेता बाहेकका २ जना) ले पनि एउटा/एउटा वटा गीत रेकर्ड, पाँच दिने भारत भ्रमण र टोकन अफ लभ प्राप्त गर्नेछन् ।